इटहरी / भारतमा भएको बस दुर्घटनामा मारिएका इटहरीवासीको शव सोमबार नेपाल ल्याईँदैछ। शव लिन इटहरीबाट एउटा टोली झापा पुगेको छ। बागडोरा एअरपोर्टसम्म प्लेनमा ल्याइने शव सिलगुडी हुँदै नेपाल प्रवेश गराइनेछ।

तीर्थ यात्राको लागि भारत गएका नेपालीहरुको बस गत विहीबार दुर्घटनामा परेको थियो। दुर्घटनामा इटहरीका ६ जना र बिराटनगरका १ जना गरेर ७ जनाको ज्यान गएको थियो। ज्यान गएका ६ जना इटहरी वडा नं १० निवासी हुन्। ६ जनाकै शव ल्याउन लागिएको हो।

परराष्ट्र मन्त्रालय, दिल्ली स्थित नेपाली दुताबासको सहयोगमा शवहरु नेपाल ल्याउन लागिएको इटहरीकी उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो।

३४ जना सवार रहेको मिनिबस दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो। बाँकीको उपचारको क्रममा ज्यान गएको जनाइएको छ। शव फिर्ता गर्ने प्रकियाका लागि नेपाली दूतावासले भारतको विदेश मन्त्रालय र तामिलनाडूको स्थानीय निकायसँग समन्वयन गरेको थियो।