वीरगञ्ज / सरकारले गाडी आयातमा नीतिगत रूपमै कडाइ गरेपछि कम मूल्यका गाडी प्रयोगकर्ताको रोजाइमा पर्न थालेका छन्। वीरगञ्ज नाकाबाट चालू आर्थिक वर्ष २०७६/७७ को पहिलो ७ महीनामा भित्रिएका गाडीको तथ्यांकीय अवस्थाले यस्तो देखाएको हो।

वीरगञ्ज भन्सार कार्यालयका अनुसार चालू वर्षको साउनदेखि माघ महीनासम्ममा संख्यात्मक रूपमा गाडी र मोटरसाइकलको आयात बढे पनि त्यसको आयातबापत बाहिरिने रकम भने घटेको छ। सरकारले पछिल्लो समय विलासी वस्तुको आयात नियन्त्रणको नीति लिएको छ। नेपाल राष्ट्र बैंकले गतवर्ष गाडीमा मूल्यको ५० प्रतिशतभन्दा बढी कर्जा लगानी नगर्न बैंकहरूलाई निर्देशन दिएको थियो।

त्यस्तै, केन्द्रीय बैंकले नै गत पुसमा कर तिरेको आयको ५० प्रतिशतभन्दा बढी किस्ता हुने रकम नदिन अर्को निर्देशन जारी गर्‍यो। यो निर्देशनले महँगा गाडीको मागमा कमी आउन थालेकोे अटोमोबाइल व्यवसायीहरू बताउँछन्। मागमा कमी आउँदा त्यसको प्रभाव आयातमा देखिएको उनीहरूको दाबी छ।