काठमाण्डौ / अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने भ्रमणका लागि आज भारत पुग्दै हुनुहुन्छ। ट्रम्प पत्नी मेलिनियाका साथ बिहान ११ बजेर ४० मिनेटमा नयाँदिल्ली पुग्ने कार्यक्रम छ। 

कार्यतालिका अनुसार ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदी आजै मोदीको गृहनगर गुजरात जानुहुनेछ। उहाँ अहमदावादको सबैभन्दा ठूलो क्रिकेट रङ्गशाला मोटेरा स्टेडियममा हुने 'नमस्ते ट्रम्प' कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेकाे छ। 'नमस्ते ट्रम्प' कार्यक्रममा सहभागी हुनुअघि मोदीले ट्रम्पलाई सावरमती आश्रममा स्वागत गर्ने कार्यक्रम छ। 

नमस्ते ट्रम्पको अवधारणा गएकाे वर्षको जुनमा मोदीले अमेरिका भ्रमण गर्दा टेक्सासमा आयोजना गरिएको 'हाउ दी मोदी' कार्यक्रमको जस्तै रहेको भारतीय विदेश मन्त्रालयले उल्लेख गरेको छ। सन् १९४७ मा भारत स्वतन्त्र भएपछि भारत भ्रमणमा जान लाग्नुभएका ट्रम्प अमेरिकाका सातौं राष्ट्रपति हुनुहुन्छ। 

यसअघि पछिल्लो पटक तात्कालीन राष्ट्रपति बाराक ओबामाले २०१५ जनवरी २५-२७ मा तीन दिने भारत भ्रमण गर्नुभएको थियो।