काठमाण्डौ / चीनमा फैलिएको कोरोना भाइरसको संक्रमणले नेपालमा पनि धेरै आयोजना प्रभावित भएका छन्। 

जलविद्युत, विमानस्थल, खानेपानी सडक लगायतका आयोजना कोरोना भाइरसका कारण प्रभावित छन्। चिनियाँ कामदार र उपकरण नभएपछि आयोजनाको काम पछाडि धकेलिएका छन्। 

कोरोना भाइरसको कारण चिनियाँ कम्पनीले निर्माणको जिम्मा पाएको नारायणगढ–बुटवल सडक बनाउने काम पनि प्रभावित भएको छ। १ सय १३ किलोमिटर लामो सडकलाई गैँडाकोट–दाउन्ने ६४ किलोमिटर पूर्वी खण्ड र दाउन्ने–वुटबल ४८ किलोमिटरलाई पश्चिम खण्डमा बर्गीकरण गरिएको छ। 

२०७५ सालको पुसमा ठेक्का सम्झौता भएको सडकमा अहिले धेरै काम भैसक्नुपर्ने थियो। १ वर्षसम्म रुख कटानको विवादले काम सुरु हुन सकेन। २०७६ सालको पुसदेखि सरासर काम हुन थालेको थियो, तर चीनमा कोरोना भाइरस फैलिएपछि यो आयोजना प्रभावित भएको छ। 

ठेकेदार कम्पनी चाइना स्टेट कन्स्ट्रक्सन एन्ड इञ्जिनियरिङ कर्पोरेसनका २ इञ्चार्जसहित १५ जना मुख्य व्यक्ति चीनमै रोकिएका छन्। जसका कारण पूर्ण क्षमतामा काम हुन सकेको छैन। 

‘दुबै खण्डका इञ्चार्ज चीनमै रोकिएका छन्, आयोजनाको मुख्य निर्णय गर्ने र पैसा परिचालन गर्ने व्यक्ति चीनमै रोकिँदा काममा असर परेको छ, काम पूर्ण क्षमतामा हुन सकेको छैन’ आयोजनाका पूर्वी खण्डका प्रमुख सुजन अधिकारीले भन्नुभयो। 

इञ्चार्जले अहिले तत्कालै आफू आउन नसक्ने र चीनमा बैंक तथा अन्य कार्यालय बन्द रहेकाले पैसा पठाउन पनि नसक्ने जानकारी दिएको अधिकारीले बताउनुभयो। 

आयोजनामा अहिले ३० किलोमिटर क्षेत्रमा रुख काट्ने काम सकिएको छ, २५ वटा कल्भर्ट र केही पुलको काम सुरु भएको छ। केही ठाउँमा माटो भर्ने काम चल्दैछ। 

तर ठेक्का सम्झौता भएको २०७५ सालको पुसदेखि साढे ३ वर्षभित्र अर्थात २०७९ सालको जेठ महिनामा सडक आयोजना सक्नको लागि अहिले निकै तीव्र गतीमा काम हुनुपर्नेमा त्यसो हुन सकेको छैन।