इटहरी/ इटहरी ८ पुशपति चोक देखि खोलाटोली गैसारसम्म निर्माण हुँदै गरेको ड्रेन निर्माणमा ‘जग्गा जोगाउन’ ‘चलखेल’ भएको स्थानीयले आरोप लगाएका छन्। पूर्वी खबरसँगको कुराकानीका क्रममा ‘केहि स्थानीय’ले यस्तो आरोप लगाएका हुन्।

एकजना स्थानीयबासीले नाम उल्लेख नगर्ने शर्तमा भने आफ्नो जग्गा बचाउन ‘चलखेल’ भएको भन्दै ति ब्यक्तिले ‘ठुलै आर्थिक चलखेल’ भएको आरोप लगाएका छन्। उनले पैनि एकातिर रहेको भन्दै नालि अर्को तिर बनाईएको भन्दै छेउका जग्गावालासँग मोटो रकम लिएर ‘ठुलै आर्थिक चलखेल’ भएको आरोप लगाएका छन्।

यता ड्रेन निर्माण समितिका अध्यक्ष रत्न अधिकारीले ड्रेन नक्सा अनुसार निर्माण गरिएको बताउनुभएको छ। उहाँले ‘आर्थिक चलखेल’ भएको भनिनु हास्यास्पद भएको भन्दै यसमा सत्यता नभएको दावी गर्नुभयो।

अध्यक्ष अधिकारीले इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीको प्रत्यक्ष निगरानी एवं निर्देशनमा काम भईरहेको भन्दै यस्तो आरोपमा कुनै सत्यता नभएको बताउनुभयो। अधिकारीले ३ लाख ५३ हजार रुपैँया बराबरको जनसहभागिता र इटहरी उपमहानगरपालिकाको १८ लाख रुपैँयाको लागतमा २५० मिटर ड्रेन निर्माण भईरहेको बताउनुभयो। उहाँले ४० क्युईन्टल रड प्रयोग गरेर स्तरीय ड्रेन निर्माण गरिरहेको भन्दै आँफुलाई कुनै आर्थिक लोभ नभएको बताउनुभयो।

यस्तै इटहरी ८ का वडाध्यक्ष रोहित चौधरीले ड्रेन निर्माण नक्सा अनुरुप नै भईरहेको भन्दै ‘जग्गा जोगाउन’ ‘चलखेल’ भएको भनेर केहि स्थानीयले लगाएको आरोप निराधार भएको बताउनुभयो। उहाँले यदि त्यसो भएको भए आँफुले त्यो काम रोक्न सक्ने बताउनुभयो।