इटहरी/ तीर्थयात्रामा भारत गएका १०जनाको सवारी दुर्घटनामा ज्यान गएपछि इटहरी शोकाकुल बनेको छ। तीर्थयात्राका लागि इटहरीबाट भारत गएका बेला ज्यान गुमाएकाहरुको घर पुगेर इटहरी उपमहानगरकी उपमेयर लक्ष्मी गौतमले परिवारजनमा समवेदना ब्यक्त गर्नुभएको छ।

इटहरी १३ का वडाध्यक्ष शिवनारायण चौधरीका साथमा मृतकको घर घर पुगेर उपमेयर गौतमले सिंगो इटहरीनै शोकमा रहेको जनाउदै धैर्यधारण गर्न परिवारजनलाई आग्रह गर्नुभएको छ। mmmm

शोकाकुल परिवारजनले आफन्तहरुको शव नेपाल ल्याउन पहल गरिदिन आग्रह गरेका छन्। उपमेयर गौतमले उपमहानगरको तर्फबाट परराष्ट मन्त्रालयसँग आग्रह गरिएको जानकारी गराउँदै भारतस्थित नेपाली दुतावासबाट एकजना प्रतिनिधि घटनास्थल तर्फ गइसक्नुभएको परराष्ट्र मन्त्रालयले जानकारी गराएको गौतमले परिवारजनलाई सुनाउनुभयो।

इटहरी १०बाट मात्रै ६जनाको ज्यान गएको छ। ज्यान गुमाउने १० जना मध्य अरु इटहरी ११, १२ र दुहवीका छन्। तीर्थयात्रा गएकाहरू सवार बस अस्ति बिहानै सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा दुर्घटना हुँदा छजनाको घटनास्थलमै र अन्यको उपचारका क्रममा ज्यान गएको हो।

दुर्घटनामा घाइते भएका १४ जनाको सरकारी मोहन कुमारामंगलम मेडिकल कलेजमा उपचार भइरहेको बताइएको छ। स्थानीय प्रहरीका अनुसार सुनसरीबाट तीर्थयात्रामा गएको एउटा समूह कन्याकुमारीमा प्रार्थनापछि बैंगलोर गइरहेको थियो।

उनीहरु सवार वस सलेम—बैंगलोर राष्ट्रिय राजमार्गमा नरिपलममा रहेको एउटा मन्दिरमा बिश्राम गर्ने योजनासहित सडकमा मोडिन खोज्दा अर्को बसमा ठोक्किएको हो। उनीहरू गत माघ २३ गते ३५दिनको यात्रामा निस्किएका थिए। तीर्थयात्रामा खनार, इटहरी र दमकका यात्रुहरु रहेको बुझिएको छ।