काठमाण्डाै / गएकाे मंसिर १५ देखि २४ गतेसम्म नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)का पदक विजेता खेलाडीले अझै पुरस्कार बापतकाे रकम पाउन सकेका छैनन्।

साग पदक विजेतालाई एक महिनाभित्र पुरस्कार बापतकाे रकम हस्तान्तरण गर्ने घाेषणा गरेकाे भए पनि घाेषणा भएकाे चार महिनासम्म पनि रकम हस्तान्तरण हुन नसकेकाे हाे। 

सरकारले प्रस्तावित पुरस्कार रकम बल्ल अर्थ मन्त्रालयबाट स्वीकृत भएकाे जानकारी गराएकाे छ। बुधबार खेलकुद मन्त्रालय आइपुगेको फाइल छिट्टै मन्त्रिपरिषद् बैठकले कार्यान्वयन गरेपछि खेलाडी तथा प्रशिक्षकलाई वितरण गरिने जानकारी दिएकाे हाे। सरकारले एकल खेलतर्फ स्वर्ण विजेतालाई ९ लाख, रजत विजेतालाई ६ लाख र कांस्य विजेतालाई तीन लाख दिने निर्णय गरिसकेको छ। 

१ भन्दा बढी स्वर्ण जित्नेले प्रति स्वर्ण ११ लाख रुपैयाँ पाउनेछन्। यस्तो सुविधा सागमा सर्वाधिक ४ स्वर्ण जितेकी गौरिका सिंह तथा २ स्वर्ण विजेताहरु मन्डेकाजी श्रेष्ठ, आयशा शाक्यलगायतलाई हुनेछ।

त्यस्तै सामूहिक खेलका स्वर्ण विजेतालाई ६ लाख दिइने छ। त्यस्तै स्वर्ण विजयी खेलाडीका प्रशिक्षकलाई पनि जनही ५ लाख रुपैयाँ पुरस्कारको व्यवस्था छ।

राखेप हुँदै पुरस्कार रकमको फाइल खेलकुद मन्त्रालय पुगेको हो। मन्त्रालयले उक्त फाइल डेढ महिनाअघि नै स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाएको थियो। अर्थले ढिला गरी बुधबार मात्र पारित गरेको हो।

मन्त्रालयले खेलाडीको पुरस्कारका लागि २४ करोड ७४ लाख रुपैयाँ निकासाका लागि सिफारिस गरेको थियो। मन्त्रालयका अनुसार प्रशिक्षकको पुरस्कार रकममा केही कटौती भएको छ। अन्य ब्यहोरा हुबहु पारित गरिएको छ। यद्यपी मन्त्रिपरिषद्को बैठकले सबै टुंगो लगाउनेछ।

साग सम्पन्न भएको भोलिपल्टै प्रधानमन्त्री केपी शर्मा ओलीले पदक विजेता खेलाडीलाई आफ्नो सरकारी निवास बालुवाटारमा बोलाएर तामझामपूर्वक विशेष प्याकेज घोषणा गर्नुभएकाे थियाे। 

घोषणालगत्तै राखेप सदस्य-सचिव रमेशकुमार सिलवालले १ महिनाभित्रै खेलाडीले पुरस्कार पाइसक्ने दावी गर्नुभएकाे थियाे।