काठमाण्डाै / इङ्ग्लिस प्रिमियर लिगमा म्यान्चेस्टर सिटी विजयी भएको छ। आफ्नो मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले वेस्टह्यामलाई दुई–शून्यले हरायो।

खेलको ३०औँ मिनेटमा रोद्री हर्नाण्डेजले गोल गर्दै सिटीलाई अग्रता दिलाएका थिए। उनले केभिन डी ब्रुयनको पासमा गोल गरेका थिए। पहिलो हाफमा त्यही गोलको अग्रता कायम राखेको सिटीले दोस्रो हाफमा अग्रता दोब्बर बनायो।

पहिलो गोलमा एसिस्ट गरेका डी ब्रुयनाले बर्नार्डो सिल्भाको पासमा गोल गरे। 

जितसँगै सिटीले ५४ अङ्क बनाएको छ। सिटीले तेस्रो स्थानमा रहेको लेस्टरसँगको दुरी चार अङ्क कायम गरेको छ। वेष्टह्याम भने २४ अंकसहित रेलिगेसन जोनमा छ।

युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले दुई वर्षका लागि युरोपेली प्रतियोगितामा प्रतबन्ध लगाए पनि सिटीले पहिलो खेल खेलेको हो। यद्यपि सिटीले यसको सम्बन्धमा खेलकुदसम्बन्धी अन्तर्राष्ट्रिय मुद्दा हेर्ने 'कोर्ट अफ् आर्बिट्रेशन फर् स्पोर्टस्' मा अपिल गर्ने बताइसकेको छ। 

मैदानमा खेल चलिरहँदा सिटीका समर्थकले युईएफएविरुद्ध नारा लगाएका थिए।