काठमाण्डौ / प्रेम सम्बन्धमा खटपट आएका कारण धेरैको ज्यान जाने गरेको छ। अझ यो प्रेम त्रिकोणात्मक छ भने सोच्नुस् त कस्तो होला ? चलत्रित्रको दृष्यमा त यस्तो त्रिकोणात्मक कहानीको अन्त्य दु:खद देखाइएको हुन्छ भने यथार्थमै त्रिकोणात्मक प्रेम सम्बन्धको परिणाम पक्कै सुखद नहुने आम मानिसले अनुमान गर्न सक्छ।

भारतको उत्तर प्रदेशको मिर्जापुर यस्तै त्रिकोणात्मक प्रेम सम्बन्धले ठूलो अपराधको घटना निम्त्याएको छ। यहाँको एक विद्यालयमा पढाउने दुई शिक्षकको एउटै युवतीसँग प्रेम बस्यो। शुरुमा त एकले अर्कोलाई सम्झाउने कोशिस गरे। तर, जब कुरा मिलेन तब यसमा एक शिक्षकले अर्को शिक्षकको हत्या गरे र त्यसको केही घण्टापछि आफैंले पनि आत्महत्या गरे।

मिर्जापुरको विंध्याचल थाना क्षेत्रको रैपुरी गाउँमा कुवामा भेटिएको शिक्षक सुरज पाण्डेयको शवबारे पुलिसले मंगलबार खुलासा गरेका छन्। घटनाबारे खुलासा गर्दै पुलिसले सुरजको हत्या उनीसँगै स्कूलमा पढाउने अर्का दुईजना शिक्षक साथीले घाँटी थिची हत्या गरेको जानकारी दिए।

भारतीय सञ्चार माध्यमलाई पुलिसले दिएको जानकारी अनुसार मृतक सुरज, अनुज र रत्नेश एक नीजि विद्यालयका शिक्षक थिए। सुरज र अनुजको दोस्ती राम्रो थियो। अनुज एक युवतीसँग विगत तीन वर्षदेखि प्रेम सम्बन्धमा थिए। यसैबीच दुई महिना अघि त्यही युवतीसँग मृतक सुरजको पनि फोनमा कुराकानी हुन थाल्यो। अनुजलाई जब यसबारे थाहा भयो तब उनले सुरजलाई त्यसो नगर्न भने तर सुरज मानेनन्।

तब अनुजले आफ्ना साथी रत्नेशसँग मिलेर फेब्रुअरी ११ मा सुरजको मफ्लरले घाँटी थिची हत्या गरे र शवलाई कुवामा फ्याँकिदिए। सुरजको मोटरसाइकल पनि दुई किलोमिटर पर फ्याँकियो। सुरजको हत्या पछि अनुजले पनि फेब्रुअरी १३ तारिखमा फाँसी लगाएर आत्महत्या गरिदिए। अनुसन्धानपछि पुलिसले हत्यामा संलग्न सहयोग रत्नेशलाई पक्राउ गर्दै सुरजको मोटरसाइकल पनि बरामद र्गयो। रत्नेशलाई जेल पठाइयो। -एजेन्सी