एजेन्सी / चीनमा कोरोना भाइरस सङक्रमण सुरू भएयताकै सबैभन्दा बृहत अध्ययनको निष्कर्ष सार्वजनिक भएको छ।

चिनियाँ स्वास्थ्य अधिकारीले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा ७० हजारभन्दा धेरै सङ्क्रमणका विवरणहरू समेटिएका छन्। चीनको सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनको तथ्याङ्कले ८० प्रतिशतभन्दा बढी सङ्क्रमणमा मध्यम तहका र बिरामी तथा बुढाबुढीमा धेरै जोखिम रहेको देखाएको छ।

अध्ययनले स्वास्थ्यकर्मी पनि उच्च जोखिममा रहेको देखाएको छ। चीनको वुहानमा मंगलबार उपचारका क्रममा एक जना अस्पताल निर्देशकको ज्यान गएको छ। वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको ५० वर्षको उमेरमा निधन भएको हो। वुचाङ्ग अस्पताल कोरोना भाइरस सङ्क्रमितहरुको उपचार गर्न रेफर गरिने वुहान राज्यको प्रतिष्ठित अस्पताल हो।

यसअघि चीनमा कोरोना भाइरसको सङ्क्रमण खतरनाक हुन सक्ने भन्दै सबैभन्दा पहिलो पटक चेतावनी दिने डाक्टर ली वेनलियाङ्गको ज्यान गएको थियो। चीनमा कोरना भाइरसका कारण अहिलेसम्म १८ सय ६८ जनाको ज्यान गएको चीनको स्वास्थ्य आयोगले जनाएको छ।

कोरोनाका कारण चीनबाहिर चार जनाको ज्यान गइसकेको छ। फिलिपिन्स, हङकङ, जापान र फ्रान्समा एक/एक जनाको ज्यान गएको छ।