काठमाण्डौ / कोरोना भाइरसविरुद्धको भ्याक्सिन भारतमा बनेको छ। पुनेस्थित सेरम इन्सिटिच्युट अफ इन्डिया र अमेरिकाको कोडाजेनिक्सले संयुक्त रुपमा कोरोना भाइरसविरुद्धको भ्याक्सिन विकास गरेका हुन्। यसको पूर्ण विकासका लागि सेरम र कोडाजेनिक्सको संयुक्त प्रोजेक्टमा तीन अर्ब भारतीय रुपैयाँ बजेट छुट्याइसकिएको जनाइएको छ।

टाइम्स अफ इन्डियाका अनुसार भ्यासिनको मानवमाथि परीक्षण छ महिनापछि हुने बताइएको छ। त्यसअघि मुसामा यसको परीक्षण हुनेछ। सेरमका प्रमुख कार्यकारी निर्देशक अडर पुनवालाले भ्याक्सिन परीक्षणका लागि आफूहरु निकै अगाडि बढिसकेको खुलासा गरेका छन्। सामान्यता कुनैपनि भ्याक्सिन पूरा विकास गर्न सात देखि आठ वर्ष लाग्ने गरेकोमा छ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्यासिन तयार हुने बताएका छन्।

तयार गरिएको भ्याक्सिन यसै महिनाभित्र मुसामा परीक्षण गरिनेछ । मानवमाथि छ महिनापछि परीक्षण गरी यसलाई अनुमोदन गरिने उल्लेख छ। सन् २०२२ मा भ्याक्सिनको व्यवसायिक उत्पादन र वितरण हुनेछ।

छ महिनाभित्र कोरोना भाइरसविरुद्धको भ्याक्सिन मानवमा परीक्षण गरेपछि यो अहिलेसम्म भारतमा बनेका भ्याक्सिनमध्ये सबैभन्दा छिटो हुनेछ। सेरमका वैज्ञानिकहरु भ्यासिन तयार गरेर निकै उत्साही भएको जनाइएको छ। पुनेस्थित सेरम इन्टिच्युट भारतको सबैभन्दा ठूलो भ्याक्सिन उत्पादन कम्पनि हो । यसले यूरोपमा समेत आफ्नो उत्पादन गर्छ।