काठमाण्डौ / जङ्गली जीवजन्तुको अवैध शिकारले चीनमा कोरोना भाइरस फैलिएको आशङ्का गरिएको छ। 

वैज्ञानिकले कोरोना भाइरस पहिलो पटक कसरी सङ्क्रमित भएर मानिसमा आयो भन्ने ठ्याक्कै ठम्याउन सकेका छैनन् तर चमेरोबाट कोरोना भाइरसको उत्पत्ति भएको हुन सक्ने प्रमाण भेटिएको बताएका छन्। 

यी चमेराले अरु पशुपंक्षीलाई सङ्क्रमित गरेको र त्यसबाट मानिसमा सङ्क्रमण भएको हुन सक्ने वैज्ञनिकले बताएका छन्। कोरोना भाइरसको उत्पत्ति भएको चीनको वुहान शहरकाे बजारबाट सङ्कलित ३३ वटा मासुको नमुना परीक्षणमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको अधिकारीहरूले बताएका छन्। 

यीमध्ये ३१ जना वन्यजन्तुकै कारोबार हुने केन्द्र वरपर भेटिएको पनि स्थानीय सञ्चारमाध्यमले जनाएका छन्। कोरोना भाइरसका कारण चीन र चीनबाहिर गरी अहिलेसम्म एक हजार सात सय ७६ जनाको ज्यान गएको छ भने ७१ हजारभन्दा बढी सङ्क्रमित भएका छन्।