काठमाण्डौ / विश्वकै सबैभन्दा ठूलामध्येको एक गायन रियालिटी शो अमेरिकन आइडलमा नेपाली युवा छानिएका छन्। अमेरिकाका विश्वस्तरीय संगीतकार लियोनेल रिची, गायक ल्युक ब्रायन र गायिका केटी बेरीको अगाडि प्रस्तुती दिँदै काठमाण्डौका दिवेश पोखरेल हलिउड प्रस्तुतीका लागि छानिएका हुन्।

हलिउड प्रस्तुतीका लागि छानिएका टप ४० मध्येका एक दिवेश हाल अमेरिकाको क्यान्सस राज्यको विचिटामा बसोबास गर्दै आइरहेका छन्। उनी ५ वर्षअघि नेपालबाट अमेरिका गएका हुन्। आइतबार अमेरिकी च्यानल एबिसीबाट प्रसारण भएको पहिलो श्रृंखलाबाट उनी छानिएका हुन्। दिवेशले आर्थर गनको उपनामबाट गाउँदै आएका छन्।

दिवेशले पहिलो पटक आफ्नी आमाबाट गितार पाएका थिए। त्यसपछि नै उनले गाउन थालेका थिए। प्रस्तुतीका क्रममा दिवेशले नेपालको सुन्दरताबारे मात्रै चर्चा गरेनन् उनले नेपालीपन पनि प्रस्तुत गरिरहेका थिए। उनले अभिवादन गर्दा पनि नमस्ते गरेका थिए र पटक पटक नमस्ने गरिरहेका देखिन्थे। उनको प्रस्तुतीको जजहरुले पनि निकै प्रशंशा गरेका थिए।