इटहरी/ सुनसरीको इटहरी १स्थित राष्ट्रिय माध्यमिक बिद्यालयको व्यवस्थापन समितिको चुनाव पार्टीगत राजनीतिका कारण बिथोलिएको छ। चुनावमा धाँधली भएको भन्दै अभिभावकहरुले बिरोध जनाएपछि गत माघ १७ गते रोकिएको चुनाव फेरी कहिले हुने भन्ने टुंगो लाग्न नसकेको हो।

चुनावमा बद्नियत देखिएको भन्दै नेकपा निकट अविभावकहरुले बिरोध जनाएपछि उत्पन्न बिवाद साम्य पार्न प्रहरी नै बिद्यालय परिसर प्रवेश गर्नुपरेको थियो। बिद्यालयको वर्तमान व्यवस्थापन समितिले फर्जी मतदाता खडा गरेको एकथरी अभिभावकहरुको आरोप छ।

माघ ७ गते बिद्यालय व्यवस्थापन छनौट सहयोग समितिको बैठकले एक दम्पती एक मतदान गर्ने निर्णय गरेको भएपनि मतदाताको अन्तिम नामावली प्रकाशन गर्दा दलगत प्रभाव र व्यक्तिगत स्वार्थमा परी माघ १३ गते एक दम्पतीको २ देखि ५ जनासम्म बिद्यार्थी र सोही संख्यामा मतदाताको नामावली प्रकाशन गरेको अभिभावक दलबहादुर मगरले बताउनुभयो।

उहाँले बैठकको सहमतीअनुसार कुनै परिवारको छोरा र छोरी पढ्ने छन् भने एक जनाले मात्र मतदान गर्न पाउने भएपनि नामावलीमा छोराको लागि बाबु, छोरीको लागि आमालाई मतदाता बनाइएको भन्दै सय भन्दा बढी फर्जी मत भेटिएपछि चुनावमा धाँधली हुँदैछ भन्ने थाहा पाएको बताउनुभयो।

त्यसो त नयाँ व्यवस्थापन समितिको प्रक्रिया अगाडि बढाउने निर्णय नै शुरुमा लुकाइएको अविभावकहरुको आरोप छ। ‘नयाँ व्यवस्थापन समिति गठन हुनुपूर्व १५ दिन अगाडि नै अभिभावककोहरुको नामावली प्रकाशन गरी पत्र पठाउनुपर्नेमा कात्तिक २५ गते मात्र ४ दिनको म्याद राखेर अभिभावकहरुको नामावली प्रकाशन गरियो र पत्र पठाइयो।’ असन्तुष्ट अविभावकहरुले जारी गरेको बिज्ञप्तिमा भनिएको छ।

शिक्षा नियमावली बिपरीत कार्य रोक्नको लागि अभिभावकहरुले गत असोज ७ गते इटहरी उपमहानगरपालिका शिक्षा शाखामा निवेदन दिएपछि कात्तिक २९ गते हुने भनिएको बिद्यालय व्यवस्थापन समितिको निर्वाचन मिति रद्ध गरिएको थियो।

त्यसपछि सोही शिक्षा शाखाले बिद्यालय व्यवस्थापन समिति छनौट लागि संयोजक निर्मल ढुङ्गेल र मतदान अधिकृत फाल्गुनी काफ्लेलाई तोकी पठाएको थियो। सो टोलीले माघ ३ गतेलाई निर्वाचन मिति तोकेको थियो, सो मितिमा पनि निर्वाचन हुन नसकेपछि माघ १७ गतेलाई अर्को मिति तोकिएको थियो।

आर्थिक धाँधलीको आरोप
यस्तै अभिभावकहरुले बिद्यालयमा आर्थिक धाँधली भएकोसमेत आरोप लगाएका छन्। हिसाबकिताब देखाउन माग गर्दा नदेखाएको उनीहरुको गुनासो छ।

असन्तुष्ट अभिभावकहरुद्वारा जारी बिज्ञप्तीमा ‘मिति २०७६ पुस २० गते इटहरी उपमहानगरपालिका शिक्षा शाखामा राष्ट्रिय माध्यमिक बिद्यालयको सार्वजनिक परिक्षण गराउनको लागि लिखित माग गरिएको थियो तर, हालसम्म सुसुचित हुन पाउने अधिकारबाट बञ्चित छौं।’ भनिएको छ।

व्यवस्थापन समितिले ढाँट्यो
अभिभावकहरुले आफूहरुलाई बिद्यालय व्यवस्थापन समितिले ढाँटेको आरोपसमेत लगाएका छन्। उनीहरुले बाल विकास कक्षादेखि ५ कक्षासम्म अंग्रेजी माध्यमबाट पढाइ हुन्छ भनेको भनिएपनि अहिलेसम्म यस्तो किसिमले पढाइ नभएकोले आफूहरु ढाँटिएको अभिभावकहरुको भनाई छ। उनीहरुले ‘ बिद्यालय प्रशासनले गैर जिम्मेवार व्यवहार गरिरहेको छ ’भनेका छन्।