काठमाण्डाै / आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले प्रतियोगिताको अन्तिम खेलमा बुधबार अमेरिकासँग खेल्दैछ।

घरेलु मैदानमा भएकाे लिगमा सोचेको जस्तो प्रदर्शन गर्न नसकेको नेपाली टिम अन्तिम खेलमा जित निकाल्दै सुखद् अन्त्य गर्न चाहन्छ। याे प्रतियोगितामा नेपालले तीन खेलमा दुईमा हार र एकमा जित निकालेको छ।

नेपाल पहिलो खेलमा ओमानसँग १८ रनको हार ब्यहोरेको थियो भने दोस्रो खेलमा अमेरिकालाई ३५ रनले हराएको थियो। त्यस्तै तेस्रो खेलमा नेपाल ओमानसँग आठ विकेटले पराजित भएको थियो।

याे लिगमा नेपालको ओपनिङमा निकै समस्या देखिएको छ। यसका साथै नेपालको ब्याटिङलाइन–अपले पनि राम्रो गर्न सकेको छैन।

नेपालका लागि अहिलेसम्म चार जना खेलाडीले अर्धशतक बनाएका छन्। जसमा युवा खेलाडी कुशल मल्ल, कप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर र विनोद भण्डारी रहेका छन्।

बलिङमा करण केसी र सुशान भारी बाहेक अन्य बलरहरु पनि जम्न सकेका छैनन्। करणले प्रतियोगितामा तीन खेलमा आठ विकेट लिएका छन्। उनले ओमानविरुद्ध चार तथा अमेरिकाविरुद्ध चार विकेट लिएका थिए।

अमेरिका पनि अन्तिम खेलमा नेपालसँग जित निकालेर प्रतियोगिताको सुखद् अन्त्य गर्ने लक्ष्यमा छ। नेपाल घरेलु मैदानमा अन्तिम खेलमा समर्थकलाई खुशी दिन चाहन्छ।