काठमाण्डौ / विभागीय टोली त्रिभुवन आर्मी क्लबले ब्रिगेड ब्वाइज क्लबलाई पराजित गर्दै शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा मंगलबार भएको खेलमा आर्मीले ब्रिगेड ब्वाइज क्लबलाई ३–० गोल अन्तरले पराजित गदै शीर्ष स्थानमा उक्लिएको हो।

आर्मीको जीतमा कप्तान भरत खवास, विकास तामाङ र टेकबहादुर बुढाथोकीले एक–एक गोल गरे। खेलको पाँचौं मिनेटमा कप्तान भरतले गोल गर्दै आर्मीलाई शुरुवाती अग्रता दिलाए। यस गोलसँगै नेपाली राष्ट्रिय टोलीका ‘फरवार्ड’ समेत रहेका भरतले नेपाली फुटबलकै माथिल्लो श्रेणीको ‘ए’ डिभिजन लिगमा ५० गोल पूरा गरेका छन्।

त्यसैगरी खेलको ५४ औं मिनेटमा विकासले गोल गर्दै आर्मीलाई दोस्रो अग्रता दिलाए। त्यसपछि खेलको ७० औं मिनेटमा टेकबहादुरले गोल गर्दै आर्मीलाई ३–० को सहज जीत दिलाए।

जीतसँगै आर्मीले शीर्ष स्थानमा एक अङ्कको अग्रता बनाएको छ। आर्मीले १२ खेलमा २९ अङ्क जोडेको छ। त्यस्तै दोस्रो स्थानमा रहेको मच्छिन्द्रको २८ अङ्क रहेको छ। आठ अङ्क रहेको ब्रिगेड १२ औं स्थानमा छ।