पोखरा / कास्कीको पोखरा– १३ आर्बामा क्षतविक्षत अवस्थामा एक महिलाको शव फेला परेको छ। आर्बा नजिकैको जंगलमा सोमबार साँझ अन्दाजी ४० बर्षिया महिलाको शव २ टुक्रा पारेर फालिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।

शवको अवस्था हेर्दा करिब ४/५ दिन अगाडी हत्या भएको हुनसक्ने प्रहरीको अनुमान छ। वडा प्रहरी कार्यालय रामबजारका प्रहरी इन्स्पेक्टर प्रकाश थापाका अनुसार आधा शरीर जमिनमा र आधा शरीर बोरामा राखेर फालिएको अवस्थामा शव फेला परेको हो।

स्थानीयले सामुदायिक जंगलमा दाउरा काट्ने क्रममा दुर्गन्ध आएपछि झरेर हेर्ने क्रममा शरीरको खुट्टा तर्फको आधा भाग जमिनमा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

प्रहरीले सो ठाँउको करिब ३५/४० मिटर तल बोरामा बाँधेर फालेको अवस्थामा टाउकोतर्फको आधा भाग फेला पारेको इन्स्पेक्टर थापाले बताउनुभयो। शवको पहिचान अझै खुल्न सकेको छैन।

शव पोष्टमार्टमको लागि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा राखिएको प्रहरीले जनाएको छ।