काठमाण्डौ / निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा नयाँ ट्वीस्ट आएको छ। प्रहरीले सुरुमै दोषी भनी सार्वजनिक गरेका दिलीपसिंह विष्टले नै हत्या गरेको प्रतिवेदन तयार भएको छ।

प्रहरीले बनाएको एआइजी धीरू बस्नेत नेतृत्वको छानबिन समितिको प्रतिवेदन त्रुटीपूर्ण रहेको निष्कर्षसहित प्रहरी प्रधान कार्यालयले सो प्रतिवेदन कार्यान्वयन नगर्न कञ्चनपुर प्रहरीलाई निर्देशन दिएको हो। यो निर्देशनसँगै पन्त हत्यामा दिलीपसिंह विष्ट नै दोषी रहेको निष्कर्षसहितको प्रतिवेदन तयार गरेको छ।

प्रहरी नायब महानिरीक्षक सुरज केसी नेतृत्वमा गठित पुनरावलोकन समितिले तयार गरेको सो नयाँ प्रतिवेदन कार्यान्वयन गरिने भएको छ। प्रतिवेदन कार्यान्वयनका लागि कन्चनपुर पठाइएको छ । तर कन्चनपुर प्रहरीले भने प्रतिवेदन पाइ नसकेको जनाएको छ।

निकै लामो समयदेखि पन्तको हत्याराको खोजी भइरहेको थियो। प्रहरीले सुरुमा केन्द्रीय अनुसन्धान ब्युरोका प्रहरी नायब उपरीक्षक अंगुर जिसी नेतृत्वमा बनाएको समितिले विष्टलाई नै दोषी किटान गरेको थियो। तर, बस्नेत प्रतिवेदनले सो प्रतिवेदन उल्टाएपछि उनै जिसी निलम्बनमा परेका थिए।