काठमाण्डौ / पत्रकारले लाइसेन्स परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै ‘नेपाल मिडिया काउन्सिल विधेयक २०७६’ राष्ट्रियसभाबाट सर्वसम्मतिले पारित भएको छ। बिहीबारको राष्ट्रियसभा बैठकले पत्रकारले परीक्षा दिनु नपर्ने व्यवस्था गर्दै नेपाल मिडिया काउन्सिल विधेयक २०७६ संशोधनसहित सर्वसम्मतिबाट पारित गरेको हो।

राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिबाट प्रस्ताव भएको पत्रकारहरुले लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउन माग गर्दै राष्ट्रियसभामा सांसद खिमलाल भट्टराईले प्रस्ताव गर्नुभएको थियो।

विधायन व्यवस्थापन समितिको प्रतिवेदनको क्रमसंख्या ५ को खण्ड ‘य’ मा रहेको पत्रकारको रुपमा काम गर्न चाहनेका लागि परीक्षा गर्ने व्यवस्था र क्रमसंख्या १५ मा रहेको पत्रकारको लाइसेन्स सम्बन्धी परीक्षा, दर्ता तथा अभिलेखसम्बन्धी व्यवस्था हटाउन सांसद भट्टराईले गर्नुभएको प्रस्तावमा अधिकांश सांसदहरुले सहमति जनाएका थिए। 

सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटासमेत त्यस संशोधन प्रस्तावमा सकारात्मक भएपछि लाइसेन्स लिनुपर्ने व्यवस्था हटाउँदै विधेयक पारित भएको हो।

यसअघि विधेयक माथिको छलफलमा बोल्नुहुँदै सांसद कोमल वलीले विश्वकै नेपालको संविधानको प्रस्तावनामा नै पूर्ण प्रेस स्वतन्त्रता भन्ने कुरा उल्लेख भएको बताउनुभएको थियो। पत्रकार महासंघले पनि विज्ञप्ति नै जारी गरेर परीक्षा लिने प्रावधानको विरोध गरेकाले यो विषयमा विचार गर्न उहाँले माग गर्नुभयो। 

सांसद राधेश्याम अधिकारीले परीक्षाको विषयमा विधायन समिति मै असहमति दर्ता भएको उल्लेख गर्नुभएको थियो। ‘पत्रकार हुनका लागि परीक्षा लिएर लाइसेन्स लिनुपर्ने कुरा उपयुक्त छैन भनेर भन्यौँ। पत्रपत्रिका, रेडियो, टिभीमा काम गर्ने पत्रकारहरुको हरेक दिन परीक्षा परीक्षण भइरहेको हुन्छ। परीक्षा लिने प्रावधान हटायो भने अरु विषयमा कुनै आपत्ति छैन’, उहाँले भन्नुभयो। 

सांसद रामप्रित पासवानले विधेयक टेबल हुँदा नै धेरै आलोचना भएको भएको भए पनि गहन छलफल भएर धेरै परिमार्जन गरी समृद्ध बनेको बताउनुभयो। 

काउन्सिलको पदाधिकारीहरुमा राष्ट्रियसभाको अध्यक्ष वा प्रतिनिधिसभाको सभामुख अध्यक्ष रहनेगरी सबै दलहरुलाई सहभागि गराउनुपर्ने प्रावधान राख्न उहाँले माग गर्नुभयो।

समितिमा लाइसेन्स परीक्षा लिने व्यवस्था गर्नुपर्ने संशोधन राख्नुभएका सांसद ठगेन्द्र प्रकास पुरीले भने परीक्षा लिने व्यवस्था हटाउने प्रावधानले शरीर, आत्मा र अनुहार लिएर सदनमा प्रवेश गरेको भए पनि शरीर र आत्ममा कायम राखेर अनुहार पूरै परिवर्तन भएको बताउनुभएको छ।