काठमाण्डाै / हङकङले चीनबाट आफ्नो देश पुग्ने सबै नागरिकलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ।

चीनमा तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसका कारण एक जनाको ज्यान गएको र २१ जनामा सङ्क्रमण देखिएकाले अब चीनबाट पुग्ने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय गरिएकाे हङकङले जनाएको हो।

आउँदाे शनिबारदेखि यो निर्णय लागू हुने बीबीसीले जनाएको छ। स्वास्थ्यकर्मीले चीनसँगको सबै सीमा बन्द गर्न माग गर्दै आन्दोलन गरे पनि हङकङले सबै सीमा बन्द गर्न भने अस्वीकार गरेको छ।

चीनमा बुधबारमात्रै कोरोना सङ्क्रमित ७० जनाको ज्यान गएको छ। त्यहाँ अहिलेसम्म ज्यान गुमाउनेको सङ्ख्या ४ सय ९० पुगेको छ भने २४ हजार ३ सय नागरिकमा कोरोनाको सङ्क्रमण भएको पुष्टि भएको छ।

चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको सङ्क्रमण अहिलेसम्म २५ देशका १ सय ९१ जनामा फैलिसकेको छ। अहिलेसम्म चीनबाहिर फिलिपिन्स र हङकङमा एकएक जनाको ज्यान गएको छ।

बुधबारमात्रै जापानको योकोहामा बन्दरगाहमा जहाजमा यात्रा गरिरहेका कम्तीमा १० जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएपछि चालक दलका सदस्यसहित जहाजमा रहेका सबै जनालाई १४ दिन क्वारेन्टाइनमा राखिएको छ।