काठमाण्डौ / आईसीसी विश्कप लिग–२ अघि अभ्यास खेलमा अमेरिकाको राष्ट्रिय टोली नेपाल अध्यक्ष–११ सँग ३७ रनले पराजित भएको छ। मुलपानी क्रिकेट मैदानमा नेपाली स्पिनरहरुको उत्कृष्ट बलिङसँगै नेपाल–११ ले अमेरिकालाई पराजित गरेको हो।

नेपाल–११ले प्रस्तुत गरेको १ सय १२ रनको सामान्य लक्ष्य पक्ष्याएको अमेरिका ३३.२ ओभरमा ७४ रनमा अल आउट हुन पुग्यो। अमेरिकाका लागि स्टिभ टेलरले सर्वाधिक २८ रन, तिमिल पटेलले २० रन जोड्न बाहेक अन्यले राम्रो प्रर्दशन गर्न सकेनन्। अमेरिकाका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेन्।

नेपाल–११ का लागि स्पिनर शेर मल्ल, सागर ढकाल र पवन सरार्फले उत्कृष्ट बलिङ गरे। शेर मल्लले ७.२ ओभरमा १ मेडन सहित १३ रन खर्चेर ४ विकेट लिए। त्यस्तै सागर ढकालले ८ ओभरमा ३ मेडन सहित १३ रन खर्चेर ३ विकेट लिए। पवन सरार्फ २ र भुवन कार्कीको नाममा १ विकेट रह्यो।

यसअघि टस हारेर ब्याटिङ थालेको नेपाल–११ ले ३३.५ ओभरमा १ सय ११ रनमा अल आउट भएको थियो। विकेटकिपर सुवास खकुरेल ८९ बलमा ५ चौका सहित ५२ रनमा अविजित रहे। यस्तै पवन सरार्फ ४२ बलमा ४ चौका सहित १९ रनमा आउट हुँदा अन्य ९ खेलाडीले दोहोरो अंकमा रन छुन सकेनन्। ओपनर शरद भेषवाकर ७, सुनिल धमला ५, सन्दीप जोरा ६, लोकेश बम ४, भुवन कार्की २, शेर मल्ल १ रन जोड्दा प्रतिश जिसी, कुशल मल्ल, किशोर महतोले खाता खोल्न सकेनन्।

अमेरिकाका लागि स्पिनर तिमिल पटेलले ६.५ ओभरमा १ मेडन सहित १५ रन खर्चेर ५ विकेट लिए। करिमा गोर र एल्मोर हचिनसनले २ विकेट लिए। नेपालले पहिलो खेल त्रिभुवन विश्वविद्यालय कीर्तिपुरमा बुधबार ओमानसँग खेल्ने छ। दोस्रो खेलमा नेपालले अमेरिकासँग माघ २५ गते शनिबार खेल्ने छ। नेपालले ओमानसँग माघ २६ र अमेरिकासँग माघ २९ मा प्रतिस्पर्धा गर्ने छ।