एजेन्सी / भारतको गुजरातमा अविवाहित युवतीहरुमाथि मोबाइल बोक्न प्रतिबन्ध लगाइएको छ। गुजरातको जाललो गाउँको ठाकोर समुदायले अविवाहित युवतीहरूलाई मोबाइल बोक्न प्रतिबन्ध लगाएको हो।

भारतीय सञ्चार माध्यमका अनुसार यस समुदायले अविवाहित युवतीहरूले मोबाइल बोक्नु उचित मानेको छैन। जालोल गाउँका ठाकोर समुदायका मानिसहरूले पञ्चायत बोलाए। पञ्चायतले आफ्ना समुदायका अविवाहित युवतीहरूलाई मोबाइल बोक्न रोक लगाउने निर्णय गरेको हो।

गाउँवासीहरू पञ्चायतको यस आदेशलाई आफ्नो संविधान सरह मान्छन्। पञ्चायतमा समुदायका मानिसहरू आफ्ना लागि आफैं नियम तय गर्छन्। यो नयाँ नियमअनुसार अविवाहित युवतीले मोबाइल फोन राखे भने ठाकोर समाजको नियम उल्लंघन गरेको मानिने छ। यसलाई अपराधका रूपमा लिइने छ।

यदि कुनै अविवाहित युवतीबाट मोबाइल बरामद भएको खण्डमा उनका पितालाई जरिवाना गरिने छ। जरिवाना स्वरूप १ लाख ५० हजार पञ्चायतलाई बुझाउनुपर्ने छ। यसबाहेक यदि युवतीले अभिभावकको सहमतिबिना विवाह गरेमा पनि पञ्चायतले अपराध गरेको मान्दछ।

जिल्ला पञ्चायत सदस्यका अनुसार पञ्चायतले समाजको हितका लागि यस्तै विभिन्न निर्णय गर्दै आएको छ। विवाहमा अनावश्यक खर्च रोक्नका लागि डिजे र आतिसबाजीमा पनि पञ्चायतले रोक लगाउने निर्णय गरेको छ।