काठमाण्डौ / हङकङमा पनि कोरोना भाइरसबाट सङ्क्रमित व्यक्तिको ज्यान गएको छ। 

चीनको वुहानबाट हङकङ पुगेका ३९ वर्षीय पुरुषको मङ्गलबार बिहान ज्यान गएको समाचार संस्था अल जजेराले जनाएको छ। योसँगै चीन बाहिर कोरोना सङ्क्रमितको ज्यान गएको यो दोस्रो घटना हो। 

यसअघि गएको आइतबार फिलिपिन्समा रहेका एक चिनियाँ पुरुषको ज्यान गएको थियो। अहिलेसम्म चीनमामात्र कोरोना सङ्क्रमित चार सय २५ जनाको ज्यान गैसकेको छ भने २० हजार चार सय ३८ जनामा सङ्क्रमण देखिएको छ। 

चीनमा तीव्ररुपमा फैलिरहेको कोरोना भाइरसका कारण ज्यान गुमाउनेको सङ्ख्या लगातार बढिरहेको छ। 

काेराेनाका कारण चीनमा मात्रै २० हजार चार सयभन्दा बढी मानिस सङ्क्रमित भएका छन्। त्यस्तै हङकङमा फेरि १५ जना, मकाओमा आठ जना र ताइवानमा १० जनामा सङ्क्रमण देखिएको छ। 

चिनियाँ अधिकारीहरुका अनुसार कोरोना भाइरसका कारण चीनमा अहिलेसम्म कम्तीमा चार सय २५ जनाको ज्यान गैसकेको छ। ६ सय ३२ जना उपचारपछि ‘डिस्चार्ज’ भएको दाबी गरिएको छ।

चीन बाहिर फिलिपिन्समा पनि केही दिनअघि एक जनाको ज्यान गैसकेको छ। विश्व स्वास्थ्य सङ्गठनले विश्वव्यापी स्वास्थ्य आपतकालको घोषणा गरिसकेको छ।