काठमाण्डौ / स्विडेनका दुई जना सांसदले जलवायु परिवर्तनलाई लिएर लड्ने आफ्नै देशकी १७ वर्षीया अभियन्ता ग्रेटा थनबर्गलाई सन् २०२० को नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका छन्।

लेफ्ट पार्टीका सदस्य जेन्स होम र हकन सवेन्नलिङले सोमबार भने, ‘थनबर्गले जलवायु सङ्कट उत्सर्जनलाई कम गर्न राजनीतिज्ञको आँखा खोल्न र पेरिस सम्झौताको पालना गर्न कठोर मेहनत गरेकी छिन्, जुन कदम शान्तिको लागि पहल हो।’

गएको वर्ष पनि स्विडेनका तीन जना सांसदले ग्रेटा थनबर्गको नाम नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरेका थिए। तर सन् २०१९ को नोबेल शान्ति पुरस्कार इथोपियाका प्रधानमन्त्री अबी अहमदले प्राप्त गरेका थिए।

सन् २०१५ को पेरिस सम्झौता जलवायु सङ्कटबाट बच्नको लागि महत्वपूर्ण कदम थियो। यसमा गरिब र धनी दुवै राष्ट्रका वर्षाको बदलिँदो शैली, बढिरहेको विश्वको तापक्रम कटौति गर्न कदम चालिएको थियो, जसको माध्यमबाट हिउँ पग्लिने क्रमलाई रोक्न सकिन्थ्यो।

यसका साथै सम्झौताअनुसार विश्वका देशहरुको दीर्घकालीन औसत तापमान वृद्धिलाई पूर्व औद्योगिक स्तरबाट २ डिग्री सेल्सियसभित्र सीमित गर्ने योजना प्रस्तुत गरिने थियो।

१७ वर्षीया किशोरी थनबर्गले जलवायु परिवर्तनमा भैरहेको बदलीलाई रोक्न विद्यार्थीहरुलाई प्रदर्शनमा उपस्थित हुन प्रेरित गरिन्। अहिले उनको यो आन्दोलन स्विडेन बाहिर युरोपको अन्य देशमा पनि पुगिसकेको छ।

साथै उनले भविष्यको आन्दोलनका लागि ई–फ्राइडेको स्थापना गरिन्, जसले अन्य मानिसलाई पनि प्रेरित गर्‍यो।

नोबेल पुरस्कारको लागि मनोनयन र छनोट यसरी गरिन्छ–

राष्ट्रिय राजनीतिज्ञ, अन्तर्राष्ट्रिय अधिकारीहरु, बौद्धिक वर्ग तथा पूर्व नोबेल पुरस्कार विजेताहरुले उपयुक्त ठानेको व्यक्तिको नाम नोबेल पुरस्कारको लागि मनोनित गर्न सक्छन्।

नोबेल पुरस्कारको घोषणा हरेक वर्षको अक्टोबरमा हुन्छ र डिसेम्बरमा नर्वेको राजधानी ओस्लोमा पुरस्कार प्रदान गरिन्छ।