काठमाण्डौ / कलाकारिता हुँदै समाजसेवामा होमिएको हास्यजोडी सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ स्टारर कमेडी चलचित्र ‘सेन्टी भाइरस’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। बुधबार राजधानीमा एक कार्यक्रमका बीच चलचित्रको ट्रेलर सार्वजनिक गरिएको हो।

ट्रेलर हेर्दा चलचित्र समसामयिक राजनीतिक विषयवस्तुमा निर्माण भएको बुझ्न सकिन्छ।

फरक पार्टीमा आबद्ध श्रीमान (सिताराम कट्टेल) र श्रीमती (कुञ्जना घिमिरे) बीचको नोकझोंकलाई ट्रेलरमा विशेष स्थान दिइएको छ। चलचित्रमा सिराताम एक पार्टीमा दत्तचित्त भएर लागेको नेताको भूमिकामा छन्। भने, कुञ्जना आफ्नो पिता (राजाराम पौडेल)को पार्टीलाई समर्थन गर्दै देखिएकी छन्। दयाहाङ राई, विल्सन विक्रम राई, वुद्दि तामाङलाई पनि ट्रेलरमा देख्न सकिन्छ।

सुबिहानी फिल्मस् प्रा.लीको ब्यानरमा निर्मित यस चलचित्रमा शंकर थापा स्माइल, राजनराज सिवाकोटी र कालीप्रसाद बाँस्कोटाको संगीत छ। २ करोड रुपैँयाको लागतमा बनेको चलचित्रको निर्माण डिन्डु लामा ह्योल्मोले गरेका हुन्। चलचित्रका सह–निर्माता फूर्पा लामा हुन्। कुमार कट्टेल र दीपक आचार्यले लेखेको कथामा बनेको चलचित्रका निर्देशक ‘कबड्डी’ फेम्ड निर्देशक रामबाबु गुरुङ हुन्।

यो फिल्मको आम्दानीको ५० प्रतिशत चितवनमा निर्माण भैरहेको ‘क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने बताइएको छ।