एजेन्सी / कोरोनाभाइरसको प्रकोपले चीनमा महामारीको रुप लिएपछि विश्वभरका स्वास्थ्य अधिकारीमा यसको चिन्ता बढेका छ। विश्वभरका आम मानिसमा यो भाइरसबारे अज्ञानता, चिन्ता देखिन्छ।

चीनमा कोरोनाभाइरसको संक्रमणका कारण मङ्गलबार मर्नेको संख्या १ सय ६ जना पुगिसकेको छ भने कम्तिमा ४ हजार ५ सय २० जनामा संक्रमण प्रमाणित भएको छ।

त्यस्तै रोगका संक्रमण थप नयाँ देशमा देखापर्ने क्रम बढेको छ। कोरोनाभाइरसको प्रकोप अहिले जुन मौसममा सुरु भएको त्यसले पनि यसको नियन्त्रणलाई कठीन बनाएको छ।

चीन र उत्तरी गोलार्दमा रहेको देशमा अहिले चिसो मौसम चलिरहेको छ। यो मौसम भाइरस विस्तारको लागि निक्कै सहायक हुनेगर्छ।

विशेष गरेर स्वासप्रश्वाससम्बन्धी अङ्गमा लाग्ने भाइरसको विस्तारको लागि यो सबैभन्दा उपयुक्त मौसम हो। एकातर्फ चिसो हावाले भाइरसलाई स्तिर राख्न सहयोग गर्छ भने न्युन आद्रताले तिनलाई लामो समय हावामा ‘तैराई’ राख्छ।

अर्को कुरा चिसो मौसममा शरीरको रोग प्रतिरोधात्मक क्षमता पनि ह्रास आउँछ। जुन अवस्था भाइरस सहजै शरिरमा प्रवेश गर्छ।

यात्रा खोप सेवा प्रदायक प्राक्टियोका सह–सस्थापक डा. जोनास निल्सेन कोरोनाभाइरस गर्मीमा स्वतः कमजोर हुने बताउँछन्। बेलायती पत्रिका डेली एक्सप्रेससँग कुरा गर्दै निल्सेनले भने, ‘कोरोनाभाइरसको लागि न्यानो मौसम उपयुक्त हुदैन। त्यसले गर्दा गर्मी सुरु भएपछि कोरोना भाइरसको विस्तार आफै घट्नेछ।’

‘हामीलाई लाग्ने रुघाखोकी पनि कारोनाभाइरसका अन्य प्रजातिले लगाउने हुन्। रुघाखोकी पनि जाडो मौसममा धेरै लाग्ने गर्छ। जाडोमा नाकको झिल्ली कमजोर हुन्छ र भाइरस सजिलै हाम्रो शरीरमा प्रवेश गर्छ,’ डा. निल्सेनले भने।

डा. निल्सेनले यात्रुलाई भाइरसको विस्तारको समयमा अपनाउनु पर्ने कैयौँ सावधानीको सुझाव पनि दिए। उनका अनुसार भाइरसको विस्तारबाट बच्न श्वास पश्स्वाससम्बन्धी संक्रमणबाट ग्रसित व्यक्तिबाट टाढै रहनुपर्छ।

त्यस्तै मासु बेचविखन हुने बजारबाट पनि टाढा रहनुपर्छ र राम्रोसँग नपाकेको मासु खान हुँदैन। त्यतिकै महत्त्वपूर्ण तारन्तर साबुन पानीले हात धुनु पनि हुन्छ।

‘अध्ययनमा भाइरसको विस्तार रोक्न मास्क पनि महत्त्वपूर्ण देखिएको छ। धेरै मानिस भएको स्थानमा जानैपर्ने भएमा मास्कको प्रयोग गर्नुपर्छ,’ डा. निल्सेनले भने।

प्रकोप डरलाग्दो अवस्थामा पुगेपनि विश्व स्वास्थ्य संगठन अहिले नै विश्वव्यापी स्वास्थ्य संकटकाल घोषणा गर्नुपर्ने अवस्थामा नआएको बताएको छ।

तर विश्व स्वास्थ संगठनको पछिल्लो बैठकले प्रकोप पुगेको देशलाई भने चेतावनी दिएको छ, ‘ती देशले मानव–संक्रमण घटाउन विशेष जोड दिनुपर्छ। त्यस्तै ती देशले रोगको अन्तराष्ट्रिय प्रसार नियन्त्रणमा समेत जोड दिदै भाइरसबारे जनचेतना विस्तार र अनुसन्धान विस्तारमा सहकार्य गर्नुपर्छ।’