काठमाण्डौ / सभामुखमा निर्वाचित अग्नि सापकोटाले आज (सोमबार) राष्ट्रपतिबाट पद तथा गोपनीयताको सपथ लिनुभएको छ। राष्ट्रपति कार्यालय शितलनिवासमा आयोजित सपथ ग्रहण समारोहमा राष्ट्रपति भण्डारीले सापकोटालाई सपथ खुवाउनुभएको हो।

समारोहमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शमसेर राणा, उपराष्ट्रपति नन्दबहादुर पुन, राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, मन्त्रीहरू, नेकपा नेताहरू उपस्थित छन्। सापकोटा प्रतिनिधिसभाबाट आइतबार सर्वसम्मतले सभामुख निर्वाचित हुनुभएको हो। सिन्धुपाल्चोक क्षेत्र नं १ बाट निर्वाचित सापकोटा दुई पटक मन्त्री भइसक्नुभएको छ।

उहाँलाई नेकपाले सभामुख बनाउने निर्णय गरेपछि राष्ट्रपतिका सल्लाहकार सुशील प्याकुरेलले राजिनामा दिनुभएको थियो। द्वन्दकालमा काभ्रेमा मारिएका अर्जुन लामाको हत्या आरोप लागेकाले सापकोटालाई कारबाही गर्न माग गर्दे प्याकुरेलले सर्वोच्च अदालतमा रिट दायर गराउनुभएको थियो। त्यसैले उहाँलाई सभामुख बनाउने निर्णयपछि प्याकुरेलले राजिनामा दिनुभएको हो।

सभामुख निर्वाचित भएपछि संसद भवनबाट बाहिरिने क्रममा सापकोटाले आफूले लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्ने बताउनुभयो। ‘लोकतन्त्रको मूल्य, मान्यता र आदर्श कायम राख्न जनताको सार्वभौम संस्थाको ओज, गरिमा कायम राख्न तटस्थ निष्पक्ष र सन्तुलित भूमिका निर्वाह गर्न सधैंभरि लागि रहनेछु’, सापकोटाले भन्नुभयो।