बिराटनगर / प्रदेश १ की प्रदेशसभा सदस्य गुलेफुन मियाँ खातुन सरकारी छाप दस्तखत किर्ते मुद्दामा दोषी ठहरिएकी छन्। तत्कालीन एमालेबाट समानुपातिकमा प्रदेशसभा सदस्य भएकी खातुनविरुद्ध सो मुद्दामा जिल्ला अदालत मोरङले गरेको आदेश उच्च अदालत बिराटनगरले सदर गरेको हो।

खातुन र उनका पति शेख सिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको नाममा रहेको मोही जग्गाको हक हस्तान्तरणका लागि तत्कालीन कदमाहा गाविसको लेटरप्याड, छाप र गाविस सचिवको दस्तखत किर्ते गरेका थिए।

गुलेफुनका पति शेख दिलावर मियाँले आफ्ना बुवा शेख धाई मियाँको ०६३ माघ १० गते र आमा खैरुन खातुनको ०६५ मंसिर १२ गते मृत्यु भएकोले तत्कालीन कदमहा गाविस–२ स्थित मधुसुदनराज पाण्डेको कित्ता नम्बर ११० को ७२८० वर्ग मिटर क्षेत्रफल जग्गामा आफ्ना बुवाको नाममा रहेको मोहियानी हक हस्तान्तरणका लागि भूमि सुधार कार्यालय मोरङमा मुद्दा दर्त्ता गराएका थिए।

शेख धाई मियाँको शेख सिलावर र दिलावर मियाँ दुई भाइ छोरा रहेको तर शेख सिलावरले आफू एक मात्र छोरा रहेकोले एकलौटी मोहियानी हक हस्तान्तरणका लागि किर्ते गरी मिति २०७१ चैत ४ गतेको चलानी नम्बर ४८७ को गाविसको सिफारिस पत्र भूमि सुधार कार्यालय मोरङमा बुझाएको थियो।

गुलेफुन र उनका पति शेख सिलावरले गाविसका तत्कालीन खरिदार विजय कामत र कार्यालय सहयोगी दिपचन्द मण्डललाई १ हजार रुपैयाँ घुस दिई सरकारी छाप दस्तखत किर्ते गरेका थिए।