काठमाण्डौ / गायिका आस्था राउत पक्राउ परेकी छिन्। त्रिभुवन विमनस्थलमा कार्यरत प्रहरी जवान रमिशा श्रेष्ठले दिएको प्रहरी प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरिएको हो। आफन्तमार्फत केही बेरअघि प्रहरी परिसर काठमाडौंमा पुगेकी राउतलाई त्यहीबाट नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

मेडिकल चेकजाँपछि राउतलाई म्याद थप गरिने काठमाण्डौ प्रहरी परिसरका प्रहरी उपरीक्षक एसपी अशोक सिंहले जानकारी दिनुभयो। करिब दुई साताअघि एउटा कार्यक्रमका लागि भारतको सिक्कीम जाने क्रममा विमानस्थलमा आफूमाथि अपमान भएको भन्दै सामाजिक सञ्जालमार्फत प्रहरीमाथि तल्लो स्तरको गाली दिएकी थिइन्।

ड्युटीमा बसेकी प्रहरीले विनाकारण गालीबेइज्जती गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि आस्था त्यसयता भारतबाट फर्केकि थिइनन्। फर्केलगत्तै सोमबार बिहान उनका आफन्तले प्रहरी परिसर लगेका थिए। अनुसन्धानका लागि भन्दै परिसरबाटै प्रहरीले गायिका राउतलाई नियन्त्रणमा लिएको हो।