काठमाण्डौ / नेपालमा कोरोना भाइरसको संक्रमण भेटिएको पुष्टि भएको छ। चीनबाट नेपाल आएका एक विद्यार्थीको स्वास्थ्य परीक्षणमा कोरोना भाइरसको संक्रमणको पुष्टि भएको स्वास्थ्य मन्त्रालयलले शुक्रबार पत्रकार सम्मेलनमा जानकारी दिएको छ।

‘चीनको युवान क्षेत्रबाट नेपालमा आएका एक व्यक्तिलाई प्रारम्भिक जाँच गरी सो को निश्चित निदानका लागि डब्लुएचओ कोल्याबोरेटिङ सेन्टर हङकङमा पठाइएकोमा जाँच पोजेटिभ आएको र हाल सो व्यक्ति लक्षणविहीन रहेको र प्रत्यक्ष निगरानीमा रहेको जानकारी गराइन्छ’ मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

पछिल्लो समय चीन, हङकङ, जापान, अमेरिका लगायतका देशमा समेत यो भाइरसका बिरामी फेला परिसकेका छन्। श्वासप्रस्वासका माध्यमबाट सर्ने यो भाइरसको जोखिम बढेसँगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले उच्च सतर्कता अपनाइसकेको छ।

के हो कोरोना भाइरस ?

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार कोरोना भाइरसको समूह हो। जसले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्छ। कोरोना भाइरस श्वासप्रश्वासको माध्यमबाट सर्छ। यसले सामान्य रुघाखोकीदेखि निमोनिया गराउने अनि मानिसको मृत्युसम्म हुन्छ।

अहिले देखिएको कोरोना भाइरस नयाँ प्रकारका हो। जुन पहिले मानिसमा पहिचान भएको थिएन। डब्लुएचओका अनुसार कोरोना भाइरसले मिडल इस्ट रेस्पिरेटरी सिन्ड्रोम ९मार्स० र सिभियर एक्युट रेस्पिरेटरी सिन्ड्रोम (सार्स) को समस्या निम्त्याउँछ।

कसरी थाहा पाइन्छ ?

जाडोको मौसम छ। यतिबेला रुघाखोकी लाग्नु सामान्य मानिन्छ। जबकी कोरोना भाइरसले संक्रमण गरिसकेपछिको सुरुवाती लक्षण पनि यस्तै हुन्छ। त्यसैले यसबाट कतिपय झुक्किन सक्छन्। रुघाखोकी जस्तै लागेपनि यो सामान्य रुपमा रहँदैन। त्यसपछि क्रमस उच्च ज्वरो आउँछ, टाउको दुख्छ, सास फेर्न गाह्रो हुन्छ। कतिपय अवस्थामा यसबाट मृत्यु समेत हुन्छ।

यसको डरलाग्दो पक्ष के भने, यो भाइरस एउटा प्रजातिको जीवबाट अर्कोमा सजिलै सर्छ। यसरी सर्दैसर्दै मान्छेसम्म पुग्छ।

कसरी सुरक्षित रहने ?

यसबाट सुरक्षित रहनु भनेको अहिलेको अवस्थामा सजग र सतर्क रहनु नै हो। रुघाखोकी लागेको व्यक्तिको सोझो सम्पर्कमा नरहने, भिडभाडमा सावधानी अपनाउने, सरसफाईमा विशेष ध्यान दिने नै हो।