काठमाण्डौ / राष्ट्रपति विद्यादेवी भण्डारीका विज्ञ सल्लाहकार सुशील प्याकुरेलले राजीनामा दिनुभएको छ। प्याकुरेलले आफ्नो राजीनामा पत्र राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष शुक्रबार पेस गर्नुभएको हो। 

प्याकुरेलले नेपाल कम्युनिष्ट पार्टीबाट सभामुख बन्न लागेका नेता अग्नि सापकोटाविरूद्ध सर्वोच्च अदालतमा रिट हाल्नुभएको थियो। उहाँले दायर गरेको रिटमा फैसला भइसकेको छैन।

सापकोटाविरूद्ध काभ्रेका अर्जुन लामाको हत्या गरेको भन्दै सर्वोच्च अदालतमा मुद्दा विचाराधिन छ। ०६२ सालमा काभ्रेका लामाको हत्या भएको थियो। आफैले रिट हालेका आरोपित पात्र सभामुख बन्‍न लागेपछि उहाँले पदमा बसिरहनु उपयुक्त नहुने भन्दै राजीनामा दिनुभएको हो। 

मानवअधिकार क्षेत्रका क्रियाशील प्याकुरेललाई राजनीतिक, सामाजिक र मानवअधिकारसम्बन्धी सुझाव र सल्लाह दिनेगरी २०७४ चैत ९ गते विज्ञ पदमा नियुक्त गरिएको थियो।