पोखरा / गण्डकीका प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ। उनलाई सादा पोसाकमा खटिएको प्रहरीले पोखराको लेकसाइडस्थित होटेल प्याराडाइजबाट बिहीबार दिउँसो पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक (एसपी) दानबहादुर कार्कीले मनाङ्गेलाई पक्राउ गरिएको पुष्टि गर्दै अनुसन्धान थालिएको जानकारी दिनुभयो। मनाङ्गेले मंगलबार अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष मिलन गुरुङलाई मञ्चमै हातपात गरेका थिए। एन्फा अध्यक्ष गुरुङले बुधबार उनीविरुद्ध किटानी जाहेरी दिनुभएको थियो।

उनले आफ्नो गल्तीप्रति क्षमायाचना गर्नुको सट्टा गुरुङ्गलाई उल्टै खेलकुदको नाममा भ्रष्टाचार गरेको आरोप लगाएका थिए। मनाङेले आफूलाई प्रहरीले पक्राउ गर्नै नमिल्ने दावी गर्दै आएका थिए।