सुनसरी/ ‘सिद्वबाबा’ नामबाट चिनिएका कृष्णबहादुर गिरी ‘सम्पर्कविहीन’ भएका छन्। गिरी जोगवनी नाकाबाट भारत पसेर ‘सम्पर्कविहीन’ भएका हुन्।

गिरी जोगवनी नाकाबाट भारत पसेको उच्च श्रोतले जानकारी दिएको छ। गिरी सवार गाडी र उनका अंगरक्षक बिराटनगर फर्किएपनि गिरी ‘सम्पर्कविहीन’ भएको उच्च श्रोतलाई उदृत गर्दै बिराटनगरस्थित पूर्वी खबरकर्मीले बताएका छन्।

एकजना महिला अनुयायीलाई बलत्कार गरेको अभियोग लागेका गिरीलाई जिल्ला अदालत सुनसरीले केहि साताअघि तीनलाख रुपैँया धरौटीमा रिहा गरेको थियो। गिरी रिहा भएपनि पिडित महिलाले उच्च अदालत बिराटनगरमा पुनराबेदन गरेकी छन्।

गिरीको आज बिहिबार उच्च अदालत बिराटनगरमा पेशी थियो। उनि पेशीका लागि बिराटनगर गएको भनिएपनि जोगवनीबाट चालकसँगै गाडी र उनका निजी सुरक्षाकर्मीलाई फर्काएर ‘सम्पर्कविहीन’ भएको उच्च श्रोतको भनाई छ।

यसैबीच गिरीका एकजना अनुयायीले भने गिरी थप उपचारको लागि भारत गएको दावी गरेका छन्। उनले गिरीलाई बिराटनर्सिङ होमले उपचारका लागि भारत पठाएको जानकारी दिएका छन्।

उच्च अदालतले आजै जिल्लाको फैसला सदर गर्ने की बदर गर्ने गरि फैसला गर्ने छ। यदि जिल्ला अदालतको आदेस बदर गरे कृष्णबहादुर गिरी कारगार चलान हुने छन्।अहिले उच्च अदालत बिराटनगरमा गिरीका बिषयमा बहस भइरहेको छ। गिरीका तर्फबाट कानुन व्यबसायी मोहन कोइराला र रुपेश कोइरालले बहस गर्नेछन्।