धादिङ / मादक पदार्थ सेवन गरी सवारी चलाउनेलाई हिरासतमा राखेर मुद्दा चलाइने भएको छ। जिल्ला प्रशासन कार्यालय धादिङले सडक दुर्घटना रोक्न सो निर्णय गरेको जनाएको हो।

मंगलबार ढोलामण्डलीबाट फर्किँदै गरेको आइचर ट्रक पल्टिँदा सातजनाको अकालमा ज्यान गएको तथा ३२ जना भन्दा बढी घाइते भएका थिए। बुधबार प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा प्रहरी, यातायात व्यवसायी, नागरिक समाज सहितको सर्वपक्षीय बैठकमा सो सहमति भएको थियो।

बैठकले सहमतिलाई पालन गराउन प्रभावकारी अनुगमन समेत गर्ने निर्णय समेत गरेकोे छ। सिटभन्दा बढी यात्रु चढाउने तथा मालबहाक सवारीले यात्रु चढाउने गरेमा जिल्ला प्रहरी कार्यालयले मुद्दा दर्ता गरी कारवाही गर्ने सहमति बैठकमा भएको छ।

प्रमुख जिल्ला अधिकारी असमान तामाङले सवारी चालकले मादक पदार्थ सेवन गरेको पाइएमा सवारी चालकलाई अबदेखि जरिवाना नभएर हिरासतमा राखेर कारबाही गरिने बताउनुभयो। बीमा नभएका सवारी सञ्चालनमा पूर्णरूपमा रोक लगाउने, बिलबुकमा प्रयोजन भनिएको अनुसार सवारी सञ्चालन गर्ने, प्रदूषण पास नभएका सवारी सञ्चालनमा रोक लगाउने, सामान ढुवानी गर्दा सवारी साधनको बाहिर निस्कने गरी सामग्री राख्न नपाइने निर्णय बैठकले गरेको छ।

ट्राफिक प्रहरीले सवारी चालक र यात्रुका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने, टाइमकार्ड व्यवस्था गर्ने, मापसे परीक्षण गर्ने, रातिका लागि विशेष सांकेतिक बोर्डहरुको व्यवस्थापन गर्ने, यात्रु संख्याभन्दा बढी यात्रु राखेमा कारवाही गर्ने निर्णय गरेको छ। जिल्लाको प्रमुख तीर्थस्थल ढोलामण्डलीलाई सभ्य बनाउने, मण्डली क्षेत्रमा मदिरा पूर्णरूपमा बन्द गर्ने सहमति गरिएको छ।