काठमाण्डौ / प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार डा. आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गर्नुभएको छ। विवादकाबीच सरकारले डा. सिंहलाई प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा बढुवा गरेको हो।

सो कार्यक्रममा प्रहरी महानिरीक्षक खनालले पदोन्नती हुनुभएका अधिकृतलाई बधाई तथा शुभकामना दिँदै नेपाल प्रहरी अस्पताल सबैको भरोसाको केन्द्र र संगठनकै महत्वपूर्ण विभाग भएकोले अस्पतालको व्यवस्थापन लगायत अस्पतालको स्तरोन्नतीका लागि अग्रसर हुनु पर्ने बताउनुभयो।

अस्पताललाई थप सुविधा सम्पन्न बनाउँदै अस्पतालमा कार्यरत कर्मचारीहरुको क्षमता वृद्धिमा समेत संगठन सदैव क्रियाशिल रहेको बताउँदै व्यवसायिकता, कार्यप्रतिको निष्ठा र सामुहिक भावना सहित अघि बढेमा सफलता प्राप्त हुने विश्वास उहाँले व्यक्त गर्नुभयो।

कार्यक्रममा पदोन्नती भएकी प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षक डा. सिंहले त्रुटी रहित ढंगले सुम्पिएको जिम्मेवारी कुशलता पूर्वक सम्पन्न गर्न आफू तल्लिन हुने प्रतिवद्धता व्यक्त गर्नुभयो। 

डा. सिंहको बढुवा सिफारिसविरुद्ध अस्प्तालका सिनियर डिआईजी मिनराज पाठकले उजुरी गराउनुभएको थियो। तर, उजुरी सुन्ने समितिले उहाँकै नाम सदर गरेको थियो।