एजेन्सी / विश्वभरका लोकतान्त्रिक देशहरुको सूचाँकमा नेपाल ९२ औं स्थानमा परेको छ। बेलायतको प्रसिद्ध द इकोनोमिस्ट इन्टेलिजेन्स युनिट(इआइयु)ले भर्खरै सार्वजनिक गरेको २०१९ मा विश्वभरका लोकतान्त्रिक मुलुकहरुको (डेमोक्रेसी इन्डेक्स) समीक्षासहितको सूचाँक प्रतिवेदनले सो कुरा उल्लेख गरेको हो।

सो रिपोर्टअनुसार भारतलाई भने यो पटक निकै ठूलो झड्का लागेको छ। भारत लोकतान्त्रिक मुलुकहरुको सूचीमा १० स्थान तल झरेको छ। यसअघि ४१ औं स्थानमा रहेको भारत यो पटक भने ५१ औं स्थानमा पुगेको छ। लोकतान्त्रिक मुलुकहरुको पहिलो नम्बरको सूचीमा भने नर्वे आएको छ। इआइयुका अनुसार भारतमा नागरिक स्वतन्त्रतामा आएको गिरावटनै त्यहाँको सूचांक खस्किनुको मुख्य कारण हो।

१ सय ६५ वटा देशहरुको सूचीमा पाकिस्तान १ सय ८ औं स्थानमा रहेको छ भने श्रीलंका ६९ औं स्थानमा रहेको छ। त्यस्तै बंगलादेश ८० औं स्थानमा रहेको छ। रिपोर्टमा अमेरिका २५ औं स्थानमा रहेको छ भने अष्ट्रेलिया ९ औं स्थानमा रहेको छ। त्यस्तै जापान २४ औं स्थानमा रहेको छ भने इजरायल २८ औं स्थानमा रहेको छ। चीन १ सय ५३ औं स्थानमा रहेको छ भने बेलायत १४ औं स्थानमा रहेको छ।

रिपोर्टमा सन् २०१९ लाइ खराब वर्षका रुपमा इङ्गित गरिएको छ। लोकतान्त्रिक सुचांकमा विशेषगरी ल्याटिन अमेरिका, अफ्रिका र पश्चिम एसियामा गिरावट आएको रिपोर्टमा उल्लेख छ। त्यस्तै अधिकांश एसियाली मुलुकमा पनि सुचांकमा गिरावट आएको उल्लेख गरिएको छ।