काठमाण्डौ / तपाईं उपत्यकावासी हुनुहुन्छ भने केही समययता यहाँको सडकको अवस्थामा सुधारको अनुभव आवश्यक नै गर्नुभएको होला।

सडकमा कालोपत्रे, रङरोगनसहित ट्राफिक चिह्नको निर्माण लगायतका सुधारका कार्यमा सरकारी तीव्रता र भएका सुधारले यस्तो अनुभव गर्नसक्ने अवस्था आएको हो।

प्रधानमन्त्रीका विकास व्यवस्थापनविज्ञ गजेन्द्र थपलियाले उपत्यकाको सडकको अवस्थामा सुधारका लागि सरकार प्रयत्नरत रहेको र काममा तीव्रता दिएकाले सुधार हुँदै गएको बताउनुभयो।

अहिले सडकका खाल्डाखुल्डी पुर्ने, मुख्य सडकको कालोपत्रे गर्ने, रङरोगन तथा ट्राफिक चिह्न र लाइटको निर्माणले उपत्यकाको सडकको अवस्थामा देखिने गरी सुधार आएको उहाँले स्पष्ट पार्नुभयो।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले काठमाण्डौ उपत्यकाका सडकको खाल्डाखुल्डी पुर्न र ट्राफिक व्यवस्थापन गर्न ‘टास्क फोर्स’ गठन गरी मङ्सिर १७ गतेबाट काम सुरु गरेदेखियता सडकको अवस्थामा सुधार आएको हो।