इटहरी / सरकारले उखु किसानको बक्यौता रकम नदिने तीन चिनी मिलको बैंक खाता रोक्का गर्ने भएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले वाचा गरेको समयमा पनि बक्यौता भुक्तान नगर्ने अन्नपूर्ण सुगर एन्ड जनरल इन्डस्ट्री, इन्दिरा सुगर एन्ड एग्रो इन्डस्ट्री र लुम्बिनी चिनी उद्योगको बैंक खाता रोक्का गर्ने प्रक्रिया अगाडि बढाएको हो।

मन्त्रालयका अनुसार यी तीन उद्योगको बैंक खाता रोक्का गर्न बुधवार नै आन्तरिक राजस्व विभागलाई पत्राचार गरिएको छ। मन्त्रालयले उखु किसानलाई दिइने भुक्तानीबाहेक अन्य सबै बैंक कारोबार रोक्का गर्न विभागलाई निर्देशन दिएको छ।

‘यी तीन उद्योगमाथि कडा रूपमा प्रस्तुत हुनुपर्ने आवश्यकता देखियो। लुम्बिनी चिनी उद्योगका सञ्चालक सम्पर्कमा पनि आएका छैनन्,’ बुधवार मन्त्रालयमा गरिएको विशेष पत्रकार सम्मेलनमा वाणिज्य मन्त्रालयका सहसचिव दिनेश भट्टराईले बताउनुभयो।

उखु किसानहरूले १४ चिनी मिलबाट १ अर्ब १६ करोड रुपैँयाभन्दा बढी बक्यौता पाउन बाँकी छ। यद्यपि, स्वयम् मन्त्रालयसँगै यसबारेमा यकिन तथ्यांक भने छैन।

- यो समाचार आजको आर्थिक अभियान दैनिकमा छ।