कास्की / गण्डकी प्रदेशसभाका सांसद दिपक मनाङ्गेका नामले चिनिने राजिव गुरुङले ठगलाई झापड हानेर ठिक ठाउँमा ल्याउनुपर्ने तर्क दिनुभएको छ। मंगलबारदेखि सुरु भएको मुख्यमन्त्री कपको उद्घाटन खेल अगाडि सांसद गुरुङले एन्फा कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हान्नुभएको थियो। 

सांसद गुरुङले बुधबार पत्रकार सम्मेलन गरेर एन्फा कास्कीका अध्यक्षमाथि भ्रष्टाचार गरेको आरोप लगाउनुभएको छ। ठगेको कारण झापड हानेको उहाँको भनाइ छ।

झापड हानेर ठीक गरे भन्न खोज्नु भएको हो? भन्ने प्रश्नमा उहाँले भन्नुभयो, ‘मलाई एकदमै राम्रो लागेको छ। तपाईँलाई नराम्रो लागेको छ भने लेख्नुस्। के भ्रष्टचारीलाई झापड नहानेर माला लगाइदिउँ?’

उहाँले मनाङबाट आएका १८ जना खेलाडीलाई अलपत्र पारेपछि झापड हानेको बताउनुभयो। मनाङबाट मुख्यमन्त्री कप खेल्न आएका खेलाडीलाई मिलन र एन्फाले अलपत्र पारेको उहाँको जिकिर थियो। 

उहाँले एन्फा अध्यक्ष कर्मा छिरिङलाई सम्झिँदै भन्नुभयो, ‘झापड हान्न मन त कर्मालाई थियो बीचमा मिलन आइपुग्नुभयाे, अहिले त रिस मरिसक्यो किन हान्नु'?’ 

अध्यक्ष गुरुङले भने कुटपिट तथा दुर्व्यवहार भएको भन्दै सांसद गुरुङविरुद्ध कास्की प्रहरीमा उजुरी दर्ता गराउनु भएकाे छ।

त्यसबारे सांसद गुरुङले भन्नुभयो, ‘जाहेरी हालेर केही हुँदैन। म पनि हाल्दिन्छु ५० वटा ठगी गरेको जाहेरी के भयो र!’