मोरङ / प्रदेश नं १ मा राष्ट्रियसभा सदस्य पदको माघ ९ गते (बिहीबार) हुन गइरहेको निर्वाचनको तयारी अन्तिम चरणमा पुगेको छ। निर्वाचन स्वच्छ, निष्पक्ष र व्यवस्थित ढङ्गले सम्पन्न गर्नका लागि आवश्यक सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको जिल्ला निर्वाचन कार्यालय मोरङका सूचना अधिकारी तीर्थ अधिकारीले जानकारी दिनुभयो।

निर्वाचनका लागि वीरेन्द्र सभागृहमा स्थानीय तहका मतदाता र प्रदेशसभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्रको व्यवस्था मिलाउन लागिएको उहाँले बताउनुभयो। एक दलित, एक महिला र एक अन्य गरी तीनजना राष्ट्रियसभा सदस्यका लागि बिहीबार बिहान १० बजेदेखि ४ बजेसम्म मतदान हुने उहाँले जानकारी दिनुभयो।

वीरेन्द्र सभागृहमा रहेको मतदानस्थलमा रहेको दुई केन्द्रमध्ये (क)मा प्रदेशसभा सदस्य र (ख)मा स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन्।

सो निर्वाचनमा प्रदेश नं १ का प्रदेशसभा सदस्य ९३ तथा स्थानीय तहअन्तर्गत महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाका प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष २७४ गरी कूल ३६७ जनाले मतदानमा सहभागी हुनेछन्।

निर्वाचन सफलतापूर्वक सम्पन्न गर्न १८ कर्मचारी खटिएका छन् भने निर्वाचनस्थलको सुरक्षाका लागि सशस्त्र र नेपाल प्रहरी परिचालन गरिएको छ। जिल्ला निर्वाचन कार्यालयमा मतपत्र प्राप्त भएपछि मतगणना शुरु गरिने सूचना अधिकृत अधिकारीले बताउनुभयो।

राष्ट्रियसभा सदस्य पदका लागि हुने निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का तर्फबाट तीनजना, नेपाली कांग्रेसका तर्फबाट तीनजना र सङ्घीय समाजवादी पार्टीेका तर्फबाट तीनजना गरी जम्मा नौ जना उम्मेदवार छन्।