काठमाण्डौ / चीनमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण अमेरिकामा पनि देखिएको छ।

अमेरिकाले सिएटल शहरमा कोरोना भाइरसँग सम्बन्धित पहिलो घटना दर्ता भएको जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले यो विषयलाई गम्भीर मान्दै बुधबार आपतकालीन बैठक बोलाएको छ।  

चिनियाँ राष्ट्रपति शी जिनपिङ्गले पनि यो सङ्कटलाई लिएर बयानमा भन्नुभएको छ, ‘वुहान र अन्य ठाउँमा फैलिएको नयाँ कोरोना भाइरस निमोनियालाई गम्भीररुपमा लिनुपर्छ।’

अमेरिकी स्वास्थ्य अधिकारीहरुले मङ्गलबार चीनमा फैलिएको नयाँ भाइरससँग जोडिएको एउटा घटना सार्वजनिक भएको जनाएका थिए। 

सङ्घीय एवं राज्य अधिकारीहरुले पीडितको उमेर ३० देखि ३५ वर्ष भएको जनाइएको छ र उनी चीनको वुहानबाट अमेरिका आएको बताएका छन्। 

रहस्यमयी भाइरस बताइएको यो नयाँ भाइरस चीनको वुहान, शङ्घाई लगायतका प्रान्तमा तीव्ररुपमा फैलिइरहेको छ। यसबाट अहिलेसम्म ६ जनाले ज्यान गुमाइसकेका छन् भने तीन सयभन्दा बढीमा सङ्क्रमण देखिएको छ। 

यसअघि जापान, थाइल्याण्ड र दक्षिण कोरियामा पनि यो भाइरसको सङ्क्रमण देखिएको अधिकारीले जनाएका थिए।  यो भाइरस मानिसबाट मानिसमा पनि सर्न सक्ने चिकित्सकहरुले बताएका छन्।