एजेन्सी / बेलायती राजकुमार ह्यारी मङ्गलबार क्यानडा पुग्नुभएको छ। गत शनिबार महारानी एलिजावेथले ह्यारी राजपरिवारको सक्रिय सदस्य नरहने घोषणा औपचारिक रुपमा स्वीकृत गर्नुभएको थियो।

‘द ड्युक अफ ससेक्स’ ह्यारीले क्यानडामा रहनुभएकी उहाँकी श्रीमती द डचेज अफ ससेक्स मेगनसँग नयाँ जीवन विताउनुहुने बताइएको छ।

मेगन छोरा आर्चीसँगै यस पहिल्यैदेखि क्यानडामा रहँदै आउनुभएको थियो। उहाँहरूले क्यानडा र बेलायतमा गरी समय बिताउने बताउनुभएको छ। त्यसकै तयारीका लागि ह्यारी क्यानडा गएको बताइएको छ।

आइतबार लण्डनमा भएको एक कार्यक्रम गरेको सम्बोधनको क्रममा राजकुमार ह्यारीले अरु कुनै विकल्प नै नभएकाले राजपरिवारको सक्रिय सदस्यका रुपमा नरहने निर्णय लिएको बताउनुभएको थियो। राजपरिवारको शीर्ष सदस्य नरहने निर्णय लिनका लागि आफूले ‘आस्था वा निष्ठाको निर्णय’ लिएको उहाँको भनाई थियो।

आफू र श्रीमती मेगन जिम्मेवारीहरुबाट नभागेको बताउँदै ह्यारीले भन्नुभयो, ‘बेलायत मेरो घर हो र मैले माया गर्ने ठाउँ हो, यो कहिले पनि परिवर्तन हुने छैन।’

द ड्युक एण्ड डचेज अफ ससेक्सले उहाँहरुको घर फ्रोग्मोर कटेज पुनर्निर्माणका लागि खर्च भएको २.४ मिलियन पाउण्ड फिर्ता गर्ने इच्छा देखाउनुभएको छ जनाइएको छ। तर फ्रोग्मोर कटेज राजकुमार ह्यारी र मेगनको बेलायती परिवारिक घर रहने राजदरबारद्वारा जारी वक्तव्यमा उल्लेख छ।