काठमाण्डौ / धुलिखेल–बर्दिवास सडकखण्डमा सवारी साधन केही समय राख्न र रोक्न (पासिङ जोन) निर्माण गरिने भएको छ। एक लेन चौडाइको सो सडकमा एउटा सवारीसाधन बिग्रँदा अथवा रोकिएर रहँदा सवारीसाधन आगमन ठप्प हुने अवस्थालाई अन्त्य गर्ने ठाउँ ठाउँमा पासिङ जोन निर्माण गर्न लागिएको हो।

एक सय ६० किमि सडकमा चार पाँच सय मिटरको दूरीमा जोन निर्माण गर्ने गरी योजना बनाइएको आयोजना व्यवस्थापक सूर्यबहादुर भाटले जानकारी दिनुभयो। उहाँका अनुसार चार खण्डमा विभाजित सडकमा सबैभन्दा साँघुरो भागका रुपमा खुर्कोट–नेपालथोक रहेको छ। उहाँले भन्नुभयो, ‘चौडाइ बढी भएकोभन्दा कम चौडाइको सडकमा बढी आवश्यक देखिएको छ।’

banner साँघुरो सडकमा पछिल्लो समय सवारी चाप बढिरहेको हुँदा यसको विकल्पको खोजी शुरु गरिएको हो। बिसाउन र रोक्न मिल्ने ठाँउ भएकैमा सवारीसाधनले उछिन्ने पनि गर्न सक्छन्। सडक विस्तारको तयारी अघि बढिरहँदा ‘जोन’ पनि तयारी भएको हो। आयोजना व्यवस्थापक भाटले भन्नुभयो, ‘सडकको बढी साँघुरा ठाँउमा जोन निर्माणको योजना बनाइएको हो।’

सडक विभागले अन्य राजमार्गमा पनि पासिङ जोन निर्माण गर्दै जाने नीति बनाएको छ। निर्माणाधीन नागढुङ्गा–सिस्नेखोला सुरुङमार्गमा पनि बिसाउन र रोक्न मिल्ने ठाँउसमेत डिजाइनमा छ।