बिराटनगर / प्रदेश १ को राजधानी शहर बिराटनगर महानगरपालिकासहित मोरङका १७ वटै स्थानीय तहमा यही माघ मसान्तदेखि सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा पूर्णरूपमा प्रतिबन्ध लगाउने भएको छ।

प्रदेश १ सरकारले प्रदेशभित्रका सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थ बिक्री वितरणमा रोक लगाउने तयारी गरिरहेका बेला मोरङका १७ वटै स्थानीय तहले माघ मसान्तदेखि सुर्तीजन्य वस्तु प्रतिबन्ध लगाउने भएका हुन्।

सामाजिक विकास मन्त्रालयले बिराटनगरमा धूमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन कार्यक्रममा यस्तो जानकारी गराएको छ। प्रदेशका सामाजिक विकास मन्त्री जीवन घिमिरेले जागरण अभियान सञ्चालन गरी प्रदेश १ लाई सुर्तीजन्य पदार्थको बिक्री वितरण एवं नियमन प्रदेश घोषणा गर्ने तयारी गरिएको बताउनुभयो।

‘मोरङका १७ वटै स्थानीय तहमा माघ मसान्तभित्रमा सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तुको बिक्री, वितरणमा रोक लगाएपछि चैतभित्रमा अन्य १३ वटा जिल्लामा पनि लागू हुनेछ’ मन्त्री घिमिरेले भन्नुभयो, ‘वैशाख १ गतेबाट प्रदेश १ लाई सुर्तीजन्य वस्तुको नियन्त्रण र नियमन प्रदेश घोषणा गर्दछौं।’

मन्त्री घिमिरेले ऐनमा भएको व्यवस्था बमोजिम सार्वजनिक स्थलबाट कम्तीमा एक सय मिटर भित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरणमा नियन्त्रण गरिने बताउनुभयो। ऐनलाई पूर्णरूपमा कार्यान्वयनमा लैजाने बताउँदै उनले कसैले पनि ऐन विपरीत काम गरेको पाइएमा कारबाही गर्ने दाबीसमेत गर्नुभयो।

कार्यक्रममा बिराटनगर महानगरपालिकाका प्रमुख भीम पराजुलीले प्रदेशको राजधानी रहेको शहर बिराटनगरबाट सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तुको प्रतिबन्ध लगाउने अभियानको थालनी भएको बताउनुभयो। पहिलो चरणमा स्कुल र हस्पिटलदेखि १ सय मिटर वरिपरिको क्षेत्रमा सुर्तीजन्य वस्तुको बिक्री वितरणमा प्रतिबन्ध लगाउने उहाँले बताउनुभयो।

‘त्यसपछि क्रमशः अन्य सार्वजनिक स्थलहरूमा लागू हुँदै जानेछ’ –प्रमुख पराजुलीले भन्नुभयो। सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐनलाई प्रभावकारी रूपमा कार्यान्वयन गरी सचेतना फैलाउँदै अगाडि बढ्नुपर्नेमा उहाँले जोड दिनुभयो। सबैको साथ सहयोगले सार्वजनिकस्थलमा सुर्तीजन्य वस्तुको बिक्री वितरणमा रोक लगाउँदै यो अभियानलाई सफलतामा पुर्‍याउनु पर्ने उहाँको भनाइ थियो। सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्ने ऐन जारी भएको सात वर्षपछि प्रदेश १ मा यसको पूर्ण प्रतिबन्ध लगाइने भएको हो।

सुर्तीजन्य पदार्थ ९नियन्त्रण र नियमन गर्ने० ऐन, २०६८ अनुसार कसैले पनि शिक्षण तथा स्वास्थ्य संस्था, बाल कल्याण गृह, शिशु स्याहार केन्द्र, वृद्धाश्रम, अनाथालय र नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरी तोकिदिएको सार्वजनिकस्थलबाट कम्तीमा एक सय मिटरभित्रको घर, पसलबाट सुर्तीजन्य पदार्थ बिक्री वितरण गर्न गराउन नपाउने व्यवस्था छ।

विद्यालय, स्वास्थ्य संस्था आसपास खुलेआम सुर्तीजन्य पदार्थको बिक्री वितरण भइरहेको र त्यसलाई रोक्न पहल नभएको भन्दै प्रदेश सरकार यसको नियमन शुरु गर्न लागेको हो। मन्त्रालयले सार्वजनिकस्थलमा सुर्तीजन्य पदार्थ नियन्त्रणका लागि बिराटनरमा सोमबार बृहत् सचेतनामूलक र्‍याली निकालिएको छ।

धूमपान तथा सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धी सचेतना र्यालीमा मन्त्री घिमिरेसहित सरोकारवाला, निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी, नेपाल प्रहरी, सशस्त्रको सहभागिता थियो। बिराटनगरस्थित शहीद रङ्गशालाबाट निस्किएको र्‍यालीले नगरका विभिन्न भाग परिक्रमा गर्दै महेन्द्र चौकमा कार्यक्रम गर्दै समापन भएको थियो।