काठमाण्डौ / सत्तारुढ दल (नेकपा)को तर्फबाट रिक्त रहेको सभामुख पदमा अग्निप्रसाद सापकोटाले उम्मेदवारी दिनुभएको छ। नेकपालाई सभामुखमा राष्ट्रिय जनता पार्टी (राजपा)को समेत समर्थ रहेको छ। सापकोटाले मङ्गलवार बिहान ल्होत्से हल, सङ्घीय संसद् भवनमा उम्मेदवारी दर्ता गराउनुभएको हो।

सापकोटाले संसदीय दलका उपनेता सुवास नेम्वाङ प्रस्तावक, नेकपाका सांसद देव गुरुङ, ओनसरी घर्तीमगर र राजपाका सांसद लक्ष्मणलाल कर्णको समर्थनमा उहाँले उम्मेदवारी दर्ता गराउनुभएको हो।

प्रतिपक्षी दल नेपाली कांग्रेसले भने सभामुखको उम्मेदवारीबाट पछि हटेको छ। मङ्गलवार बिहान बसेको कांग्रेस संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी नदिने निर्णय गरेको हो। कांग्रेस संसदीय दलले नेकपाको स्पष्ट बहुमत रहेका कारण सभामुखमा कांग्रेसले उम्मेदवारी नदिने निर्णय गरेको हो।

संसद् सचिवालयले बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय दिएको छ।