हेटौंडा / मकवानपुरको थाहा नगरपालिका–४ दामनस्थित पानोरमा रिसोर्टमा ज्यान गएका आठजना भारतीय पर्यटकको सनाखत भएको छ। रिसोर्टका कोठामा गए राति बसेका पर्यटकले हिटर बालेर सुतेका कारण निसास्सिएर ज्यान गएको हुनसक्ने जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरी निरीक्षक ललनप्रसाद कुर्मीले ज्यान जानेमा भारत केरलाका ३८ वर्षीय रन्जित कप, ३४ वर्षीय इन्द्र कप, ३७ वर्षीय प्रवीण, ३२ वर्षीया सरिया, ५ वर्षीय अभी, ७ वर्षीया अर्चना, ५ वर्षीय बैशनव, ९ वर्षीया बन्द्रा रहेका जानकारी दिनुभयो।

नेपाल घुम्न आएका १५ पर्यटकमध्ये आठजनाको ज्यान गएको हो। उनीहरु रिसोर्टको १०१ नम्बर कोठामा बास बसेका थिए। एउटै कोठामा आठजना सुतेका ती पर्यटक मंगलबार बिहान बेहोस अवस्थामा फेला परेका थिए उनीहरुलाई हेलिकप्टरबाट काठमाण्डौको ह्याम्स् अस्पताल लगिएको थियो।

पोखराबाट सोमबार साँझ उनीँहरु सो रिसोर्टमा बास बस्न आएको पालुङ इलाका प्रहरी कार्यालयले जनाएको छ। घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ।