काठमाण्डौ / अफगानिस्तानमा सुरक्षाकर्मीको कारबाहीमा परी १८ जना लडाकु मारिएका छन्। उनीहरूले अरु १० जनालाई पनि लडाकु नै भएको आशंकामा पक्राउ गरेको अधिकारीहरुले सोमबार जानकारी दिएका छन्। 

देशका ३४ प्रान्त मध्ये ११ प्रान्तमा पछिल्लो २४ घण्टाको अवधिमा भएका घटनामा परी उनीहरुको ज्यान गएको समाचारमा जनाइएको छ। त्यसैगरी १४ स्थानमा भएका सुरक्षा कारबाहीका क्रममा छ लडाकु घाइते भएको सरकारी अधिकारीले जारी गरेको वक्तव्यमा उल्लेख गरिएको छ। 

अफगानी प्रहरी र जासुसी निकायसँग समन्वय गरेर आफ्गानिस्तानको सेनाले लडाकुहरुले प्रयोग गर्दै आएका केही सवारी साधन र हतियारहरू पनि नियन्त्रणमा लिएको छ। त्यही अवधिमा अफगानिस्तानी हवाई सुरक्षा फौजले तालिवान लडाकुहरुलाई लक्षित गरेर आठ हवाई आक्रमण पनि गरेको थियो।