काठमाण्डौ / चीनको वुहान शहरबाट देखा परेको रहस्यमयी ‘कोरोनाभाइरस’को सङ्क्रमण दक्षिण कोरियामा पनि भेटिएको छ।

दक्षिण कोरियाको राष्ट्रिय रोग नियन्त्रण केन्द्रका अनुसार चीनको इन्चियन अन्तराष्ट्रिय विमानस्थलबाट शनिबार कोरिया पुगेकी एक चिनियाँ महिलालाई ज्वरो आएको र श्वासप्रश्वास सम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनलाई ‘कोरोनाभाइरस’ रहेको पुष्टि भएको हो।

अस्पतालमा अन्य बिरामीभन्दा टाढा राखेर उनको उपचार भइरहेको रूसी समाचार संस्था स्पुटनिकले कोरियाली अधिकारीलाई उद्धृत गरी लेखेको छ। यो रोगको सङ्क्रमण जनवरीको सुरूमा चीनको वुहानमा पत्ता लागेको थियो।
यो जिवाणु सङ्क्रमित बिरामी निमोनिया र अन्य श्वासप्रश्वास सम्बन्धी समस्या भएजस्तै देखिने गर्छ। यसैबीच चीनमा ‘कोरोनोभाइरस’का कारण सोमबारसम्ममा तीन जनाको ज्यान गएको छ। चीनले करिब १४० जनामा यो रहस्यमयी रोग लागेको पुष्टि गरेको छ।

चिनियाँ स्वास्थ्य अधिकारीले यो रोगको सङ्क्रमण बेइजिङमा सोमबार दुई जनामा फेला परेको र क्वाङडोङमा पनि एक बिरामीमा समस्या पाइएको बताए। यसले ‘कोरोनोभाइरस’को सङ्क्रमण वुहानबाट अन्य शहरमा पनि फैलिएको पुष्टि भएको छ।

यो रोगको सङ्क्रमण जापानमा एक र थाइल्याण्डका एक व्यक्तिमा भएको ती मुलुकका अधिकारीले यस पहिले नै जनाएका थिए।