काठमाण्डौ / उपसभामुख डा. शिवमाया तुम्वाहाङ्फेले सभामुखको उम्मेद्वारको टुङ्गो लागेसँगै आफूले पदबाट राजीनामा दिएको बताउनुभयो। प्रतिनिधिसभाको बैठकमार्फत उपसभामुखबाट राजीनामा घोषणा गरेलगत्तै संसद् भवन नयाँ बानेश्वरमा पत्रकार सम्मेलन गरेर उहाँले संविधानले संसद्लाई नेतृत्वविहीन हुने कल्पना नगरेकाले सभामुखको उम्मेद्वारको टुङ्गो लाग्ने बित्तिकै आफूले राजीनामा गरेको बताउनुभयो।

उहाँले आफू दलको नभई संसद्को उपसभामुख भएकाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले राजीनामा गर्न दिएको निर्देशन मान्न नसकेको प्रस्टीकरण दिनुभयो। ‘संसदीय मर्यादालाई ख्याल गरी मैले मार्गप्रशस्त गर्न राजीनामा गरेको हुँ’, तुम्वाहाङ्फेले भन्नुभयो।

उपसभामुखबाट राजीनामा गरेसँगै ट्रयाक परिवर्तन भएको उहाँको भनाइ थियो। उहाँले आफ्नो दुई वर्षे कार्यकालमा संविधान र कानून बमोजिम कर्तव्य निर्वाह गरेको जिकिर गर्नुभयो।

असोज १४ गतेपछि सभामुख पद रिक्त रहेको असहज परिस्थितिमा संविधानले दिएको अधिकारअनुसार आफूले प्रतिनिधिसभाको नेतृत्व गरेको उहाँले स्पष्ट पार्नुभयो। ‘उपभामुखबाट राजीनामा गर्दा म अत्यन्त खुशी छु, राजीनामासँगै मेरो प्रगतिका लागि थप उत्साह मिलेको छ’, उहाँले भन्नुभयो।

संसद् सचिवालयको कर्मचारीले दुव्र्यवहारको आरोप लगाएपछि सभामुख कृष्णबहादुर महराले राजीनामा दिएका थिए। गत असोज दोस्रो सातादेखि प्रतिनिधिसभा सभामुखविहीन छ। आइतबार नेकपाको सचिवालय बैठकले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउने निर्णय गरेको थियो।