धनकुटा / धनकुटामा एनजिओ/आइएनजीओहरुलाई घर भाडामा नदिन विप्लव नेतृत्वको प्रतिवन्धित नेपाल कम्युनिष्ट पार्टीले उर्दी जारी गरेको छ। विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी जिल्ला समिति धनकुटाले प्रेस विज्ञप्ति जारी गर्दै एनजीओ/आइएनजीओलाई घरबाट हटाउन घरबेटीलाई अपील गरेको हो।

जिल्ला इन्चार्ज दर्शन किराती र सचिव सुदर्शन थापाद्वारा जारी विज्ञप्तिमा राष्ट्रलाई आर्थिक संकटबाट बचाउनका लागि यस्ता संस्थालाई बाहिस्कार गर्न आग्रह गरिएको छ।

‘दलाल पुँजीवादी संस्था तपाईको घरमा कार्यालय खोलेर बसेको हुनाले सो संस्थाको कार्यालय हटाइदिनुहुन अनुरोध छ। जनताको इच्छा विपरित ढाँटछल गरी आफ्नो स्वार्थ पूरा गरिरहेकाले यस्ता संस्थालाई बन्द गर्ने हाम्रो अभियानमा सहयोग गर्नुहुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।